अरब सागरमा तैनाथ अमेरिकी विमानवाहक युद्धपोत ‘अब्राहम लिंकन’लाई लक्ष्य गरेर इरानले ड्रोन हमला गरेको छ।
इरानसँगको तनाव चुलिँदै जाँदा अमेरिकाले ठूलो संख्यामा लडाकू विमान र सैनिकसहितको युद्धपोत एक साताअघि हिन्द महासागर हुँदै इरानतर्फ परिचालन गरेको थियो।
उक्त युद्धपोत अरब सागर नजिकै तैनाथ गरिएको अवस्थामा इरानले ड्रोन हमला गरेको छ।
घटनामा कुनै पनि अमेरिकी सैनिक घाइते नभएको र सैन्य उपकरणमा क्षति नपुगेको अमेरिकी सेनाले जनाएको छ।
इरानको संयुक्त राष्ट्रसंघीय मिसनले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।
इरानको तस्नीम समाचार एजेन्सीले अन्तर्राष्ट्रिय जलमार्गमा एउटा ड्रोनसँग सम्पर्क टुटेको पुष्टि गरेको तर कारण नखुलाएको भनेर रोयटर्सले लेखेको छ।
अमेरिकाले ड्रोन खसालेको केही घन्टापछि पर्सियन गल्फ र ओमानको खाडी हुँदै अरब सागरमा जोडिने स्ट्रेट अफ होर्मुजमा पनि अर्को तनावपूर्ण घटना भएको छ।
समुद्री जोखिम व्यवस्थापन समूह भ्यानगार्डका अनुसार इरानी डुंगाहरूले ट्याङ्करलाई इन्जिन बन्द गरी बोर्डिङका लागि तयार हुन आदेश दिएका थिए। तर ट्याङ्करले गति बढाएर यात्रा जारी राखेको थियो। त्यसपछि अमेरिकी नौसेनाको युद्धपोत ‘म्याकफाउल’ ले ट्याङ्करलाई सुरक्षा दिँदै बाहिर निकालेको अमेरिकी सेनाले जनाएको छ।
अमेरिकी सेनाका अनुसार युद्धपोतको उपस्थितिपछि स्थिति शान्त बनेको र ट्याङ्कर सुरक्षित रूपमा गन्तव्यतर्फ अघि बढिरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानतर्फ युद्धपोतहरू अघि बढिरहेका बेला परमाणु सम्झौता हुन नसके राम्रो नहुने चेतावनी दिएका थिए।
ड्रोन हमलाको घटना यस्तो बेलामा भएको हो जब अमेरिका र इरानबीच परमाणु वार्ताको तयारी कूटनीतिक तहमा चलिरहेको छ।
ट्रम्पले इरानले गम्भीर रूपमा वार्ता गरिरहेको दाबी गरेका छन् भने इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानीले वार्ताका लागि व्यवस्था मिलाइँदै गएको बताएका छन्।



प्रतिक्रिया