नेपाल शेर्पा विद्यार्थी संघको अध्यक्ष पदमा निमा साङ्गे शेर्पाको उम्मेदवारी घोषणा

नेपाल शेर्पा विद्यार्थी संघको अध्यक्ष पदमा निमा साङ्गे शेर्पाको उम्मेदवारी घोषणा


काठमाडौं । नेपाल शेर्पा विद्यार्थी संघको १५ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा संघको केन्द्रीय अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष निमा साङ्गे शेर्पाले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। संघको महाधिवेशन यही मिति २०८२ माघ ३ गते सम्पन्न हुने कार्यक्रम रहेको छ।

निमा साङ्गे शेर्पा लामो समयदेखि नेपाल शेर्पा विद्यार्थी संघमा सक्रिय रहँदै आएका छन्। उनले केन्द्रीय सदस्य, सचिवालय सदस्य हुँदै हाल उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै संघलाई सुदृढ बनाउन निरन्तर योगदान दिँदै आएको उल्लेख गरेका छन्।

उम्मेदवारी घोषणा गर्दै शेर्पाले हालका अध्यक्ष फुर्वा छिरिङ शेर्पाको नेतृत्वमा संघले हासिल गरेको गतिलाई निरन्तरता दिँदै समयअनुकूल, विद्यार्थी–केन्द्रित र समुदायमुखी संगठन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले शेर्पा विद्यार्थीहरूको हकहित, अवसर, पहिचान र उज्ज्वल भविष्य सुनिश्चित गर्न आफू अध्यक्ष पदमा उम्मेदवार बनेको स्पष्ट पारे।

“मेरो उम्मेदवारी केवल पदका लागि होइन, सम्पूर्ण शेर्पा विद्यार्थी, समुदाय र राष्ट्रको हितका लागि हो,” उनले बताएका छन्। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संघलाई बलियो, प्रभावकारी र गौरवशाली संगठनको रूपमा अगाडि बढाउने उनको प्रतिबद्धता रहेको छ।

नेपालभर छरिएर रहेका शेर्पा विद्यार्थीहरूको छाता संगठनका रूपमा रहेको नेपाल शेर्पा विद्यार्थी संघलाई थप सशक्त बनाउने लक्ष्यसहित उनले सम्पूर्ण शेर्पा विद्यार्थीहरूबाट साथ, समर्थन र विश्वासको अपेक्षा गरेका छन्।