काठमाण्डौ – नेपालमा रक्सी खाएका कारण विभिन्न किसिमका समस्याहरू बढिरहेको विज्ञहरूले बताएका छन् । कान्ति बाल अस्पतालकी मानसिक स्वास्थ्य शाखाकी डा. ज्यास्मिन माले मदिराले डिप्रेसन, एन्जाइटी, डिमेन्सिया, यौन समस्या र भ्रम –ह्यालुसिनेशन)जस्ता मानसिक रोग बढाइरहेको बताइन्।उनले मदिराका कारण परिवारभित्र महिला र बालबालिका मानसिक रूपमा पीडित हुने धेरै घटना देखिएको बताउँदै “गर्भवती महिलाले मदिरा सेवन गर्दा भ्रुणमै गम्भीर असर पर्ने उल्लेख गरिन्।नेपाल मदिरा नीति सञ्जाल (नापा) को आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र (एनएचइआइसिसि) को समन्वयमा आयोजित कार्यक्रममा नीति, स्वास्थ्य, उपचार र सामाजिक असरका विविध पक्षमा गहन छलफल भएको थियो।‘नेपालमा मदिरा प्रयोगको अवस्थाः नीतिगत चुनौती, तल्लो तथा मानसिक स्वास्थ्य’ विषयक छलफल कार्यक्रममा स्वास्थ्य सचिव डा. विकास देवकोटाका अनुसार रक्सीका कारण हिंसा र सडक दुर्घटना बढ्नुका साथै व्यक्तिमा नसर्ने रोग र मानसिक समस्या पनि बढिरहेको छ ।
स्वास्थ्य अभियन्ता शान्त लाल मुल्मीले नेपालमा मदिरा खरिद, बिक्री र प्रयोगमा कुनै प्रभावकारी काम सरकारबाट नभएको बताउदै उनले “२० वर्षअघि महिलाले मदिरा सेवन गर्दैनथे, अहिले अधिकांश महिलामा प्रयोग बढेको छ,” साथै संस्कृति, रीतिरिवाज, ब्रान्ड र सेलिब्रेसनको नाममा मदिरा सामान्यीकरण गरिएको छ भन्दै अल्कोहलको अनियन्त्रित रूपमा भइरहेको प्रयोगलाई नियमन गर्न अत्यन्तै जरुरी रहेको बताउनुभयो ।यस्तै रक्सीले व्यक्तिको काम गर्ने क्षमता घटाएर परिवार र सिङ्गो राष्ट्रकै अर्थतन्त्रमा पनि भार बढिरहेको छ । अध्ययन अनुसार नेपालमा हुने कुल घरायसी खर्चमध्ये ५ प्रतिशत अल्कोहलमा खर्च हुने गरेको छ भने रक्सीमा हुने खर्च फलफूलको भन्दा धेरै छ । सन् २०१९ को तथ्याङ्क अनुसार नेपालमा ११ लाख वयस्क मानिस रक्सीको कडा सेवनकर्ता रहेका छन् ।
विगत ३० बर्षदेखि मदिरा प्रभावितहरुको पुर्नस्थापनामा काम गर्दै आएका रिचमन्ड फेलोसिप नेपालका विष्णु फुँयालले अहिले १२ हजार ५७ जना मानिस अल्कोहलका कारण पुनस्र्थापना केन्द्रमा बसेर उपचाररत रहेकोले पनि यसले निम्त्याउने स्वास्थ्य विपदको अवस्था छर्लङ्ग हुने बताउनुभयो ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गानाले हिजोआज रक्सीको नाम अनि उही आकार प्रकारको बोतलमा पानी बिक्री गर्ने घुमाउरो वित्रापनको चलन बढेको भन्दै यसको नियन्त्रण नियमनका लागि कानून अपरिहार्य रहेको र यसका लागि प्रयास भइरहेको बताउनुभयो । सिविनका कार्यकारी निर्देशक कुमार भट्टराईले मदिरा प्रयोगले दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्न गम्भीर अवरोध सिर्जना गरिरहेको बताउदै “नीति र ऐनले बाँधेर अघि बढ्न सके मात्र भ्रम र गलत प्रचार रोक्न सकिन्छ,” भन्नुभयो ।रक्सीको विज्ञापन गर्न नपाइने व्यवस्था भए पनि उत्पादकहरूले घुमाउरो रूपमा विज्ञापन गर्दा प्रयोगकर्ता बढिरहेका छन् । रक्सीले परिवारमा हिंसा, समाजमा बेमेलदेखि अर्थतन्त्र र स्वास्थ्यमा असर बढाइरहेकोले रक्सीको प्रयोग घटाउनका लागि नियन्त्रण तथा नियमन ऐन आवश्यक रहेको विज्ञहरू बताउँछन् ।





प्रतिक्रिया