गणतन्त्र दिवसमा फेसबुक मार्फत् ईश्वर पोखरेलको आग्रह

गणतन्त्र दिवसमा फेसबुक मार्फत् ईश्वर पोखरेलको आग्रह


काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनस्तरमा मनाइने गणतन्त्र दिवसमा सक्रियताका साथ सहभागी बन्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत् यस्तो आग्रह गर्नुभएको हो ।

कुनै पनि नाममा कायम गरिने जन्मसिद्ध विशेष अधिकार, वंश परम्परामा आधारित तथा अनिर्वाचित शासन सत्ताप्रति असहमति र विरोधको जगमा अहिलेको लोकतान्त्रिक गणतन्त्र खडा भएको उहाँले उल्लेख गर्नुभएको छ । लामो संघर्ष र त्यसमा प्राप्त गरेका अनेकौं अनुभवका आधारमा नेपाली जनता यो ऐतिहासिक उपलव्धीका हकदार बनेको उहाँको भनाई छ ।

त्यस्तै लोकतन्त्र गणतन्त्र स्थापनापछि महत्वपूर्ण र ऐतिहासिक उपलव्धीहरू हासिल भए पनि यसले अनेकौं उतार चढावपूर्ण मोडहरू पार गर्दै आएको छौँ । उहाँले कतिपय बेला नदेखिने , देशभित्रका र बाहिरका शक्तिहरूद्वारा सिर्जीत समस्याहरूसित योग्यतापूर्वक जुद्धै र परिपक्वता प्राप्त गर्दै अहिलेको अवस्थामा हामीहरूआइपुगेको बताउनु भएको छ । त्यस्तै पोखरेलले  सार्वभौम नेपाली जनताका प्रतिनिधिहरूद्वारा गणतन्त्रको घोषणा गरिएको र इतिहासमा सुरक्षित यो महान र ऐतिहासिक प्रसङ्गलाई कसैले पनि बिर्सन नमिल्ने बताउनु भएको छ।

त्यस्तै उहाँले भन्नु भएको छ , ” अग्रगति र प्रगतिलाई देख्न नचाहने  देख्न नसक्ने र पुनरउत्थानको सोच राख्ने पक्षहरू प्रतिकृयावादी मात्र होइनन् , प्रतिगामी शक्तिका मतियार हुन्- प्रतिगामी नै हुन् । आज त्यस्ता तत्वहरू सल्बलाउन थालेका छन् । यो राजावादीहरू सल्बलाहट पुनरउत्थानका लागि हो । यतिवेला पुनरउत्थानको प्रयत्न जन्मसिद्ध विशेषाधिकार, वंश परम्परामा आधारित शासन सत्ता र अनिर्वाचित शासन सत्ताको पुनर्स्थापनाको चाहना नै हो । राजतन्त्र स्थापना गर्ने कुरा त्यसैको ठोस अभिव्यक्ति हो । पुनरउत्थानका लागि गरिने कुनै पनि प्रयत्न मासिनै पर्नेर नासिनैपर्ने विषय हुन् । विगत र भविष्य नभएका शक्तिहरू पनि लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने हतियार बन्ने कोशिस गरिरहेका छन् । नदेखिने गरी केही बाह्य शक्तिहरू यही खेलमा खेलाडी बन्ने प्रयत्न गरिरहेको आभाष भैरहेको छ । यसपटक गणतन्त्र दिवस मनाउन आयोजना भइरहेको जनस्तरको समारोहमा सहभागी हुनुहुने हरेक सहभागीले यिनै कुरा बुझेर सकृय सहभागी बनौं र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि दृढतापूर्वक अघि बढौं ।”

सरकारले आज जेठ १५ गते गणतन्त्र दिवस मनाउँदै छ ।