‘प्रधानमन्त्रीले डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउँछु भनेको ७ महिना भयो, कहिले कार्यान्वयन होला : निशा डाँगी

‘प्रधानमन्त्रीले डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउँछु भनेको ७ महिना भयो, कहिले कार्यान्वयन होला : निशा डाँगी


काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की नेतृ निशा डाँगीले डिजिटल कारोबारमा लाग्ने अतिरिक्त शुल्क हटाउन सरकारलाई पुनः दबाब दिएकी छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद डाँगीले प्रधानमन्त्रीले डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने आश्वासन दिएको सात महिना पुगेपनि कार्यान्वयन नभएकोमा प्रश्न उठाइन् ।

“डिजिटल कारोबार निःशुल्क गर्ने भन्ने विषय आज चौथो पटक यस सदनमा उठाउँदैछु । यस विषयमा अर्थमन्त्री ज्यूलाई दुई महिनाअघि ध्यानाकर्षण पत्र समेत बुझाएको थिएँ । तर, हालसम्म कुनै पनि जवाफ आएको छैन,” डाँगीले अगाडि भनिन्, “प्रधानमन्त्री ज्यूले सात महिनाअगाडि सामाजिक सञ्जालमा डिजिटल कारोबारलाई निःशुल्क बनाउने कुरा गर्नुभएको थियो । त्यसैगरी प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले पनि मोबाइल बैंकिङको महँगो शुल्कको आलोचना गर्दै फेसबुकमा स्टाटस लेख्नु भएको थियो ।”

डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउन सरकार गम्भीर नभएको आरोप लगाउँदै उनले भनिन्, “फेसबुकमा स्टाटस लेखेर मात्र जनताको भलो हुँदैन, नीति कार्यान्वयन गरेर जनतालाई राहत दिनुपर्छ । सरकार आफ्नै बचनको मूल्य बुझ्दैन । सदनमा बारम्बार उठेका विषय बेवास्ता गर्छ । जनताले सरकारको आश्वासनलाई गम्भीर रूपमा लिन्छन्, तर सरकार सुन्दै नसुनेझैं गर्छ । फेसबुकमा लेखिएको कुरा केबल लाइक, शेयर र कमेन्टका लागि मात्र थियो कि कार्यान्वयन गर्ने प्रतिबद्धता थियो ”

सरकारले आम जनताको गुनासो सुन्नुपर्ने भन्दै उनले डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क तत्काल हटाउन माग गरिन् ।