पारिवारिक विवादमा फसेको ज्योति समूह विभाजित

पारिवारिक विवादमा फसेको ज्योति समूह विभाजित


नेपालको पुरानोमध्येको व्यापारिक तथा औद्योगिक घराना ज्योति समूह विभाजन भएको छ । आइतबार काठमाडौंमा आयोजित एक सार्वजनिक कार्यक्रममा पद्म ज्योतिले ‘ज्योति समूह’ अब ‘पद्म ज्योति समूह’ मा रूपान्तरण भएको घोषणा गरेका हुन् ।

ज्योति समूहबाट आफ्ना सम्पूर्ण कम्पनीहरू सञ्चालन गर्दै आएका अध्यक्ष पद्म ज्योतिले ‘पद्म ज्योति समूह’घोषणा गर्दै बाबु मणिहर्षको विरासतलाई कायम राख्नका लागि नयाँ अध्याय सुरु गरिएको र यस अध्यायले विकास र सिर्जनशीलताको नयाँ यात्राको सुरुवात गरिएको बताए ।

‘धेरै बाधा र चुनौतीहरू पार गरे पनि यस समूह आफ्नो उत्कृष्टताको विरासतमा प्रतिबद्ध रहँदै निरन्तर अघि बढिरहेको छ,’उनले भने, ‘ज्योति समूहबाट पद्म ज्योति समूहमा भएको परिवर्तनले प्रगति, अनुकूलनता र नयाँ अवसरहरूको खोजीमा हाम्रो समर्पण जनाउँछ ।’

मणिहर्ष ज्योतिद्वारा सन् १९४० मा स्थापित व्यापारिक विरासत ज्योति ग्रुपमा यसअघि मुख्य सदस्य पद्म ज्योति र रूप ज्योति रहेका थिए । यद्यपि लामो समयदेखि यी दुई दाजुभाइबीच विवाद चर्किंदै गएको थियो । यो समूहअन्तर्गत हिमाल स्टिल, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फर्मास्युटिकल्स, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्सका साथै दुईपाङ्ग्रे होन्डा ब्रान्डका मोटरसाइकलको आधिकारी वितरक कम्पनी रहेका छन् ।