स्वर्गीय श्रीमतीको स्मृति दिवसको अवसरमा खनालले ल्याए ‘संसारमा तिमीलाई’

स्वर्गीय श्रीमतीको स्मृति दिवसको अवसरमा खनालले ल्याए ‘संसारमा तिमीलाई’


प्रेस काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले स्वर्गीय श्रीमती अनिता आचार्यको स्मृति दिवसको अवसरमा ‘संसारमा तिमीलाई’ बोलको गीत सार्वजनिक गरेका छन् । उक्त गीत  युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘संसारमा तिमीलाई अब भेटिदैँन तर पनि हाम्रो माया कहिल्यै मेटिदैन’ भन्ने गीतमा गायक मातृका आचार्यले स्वर रहेको छ भने सङ्गीतकार पुरुषोत्तम न्यौपानेको सङ्गीत रहेको छ । यस्तै स्व। आचार्यको काल्पनिक मधुर आवाजमा आस्मा दुलालले साथ दिएकी छिन् ।

उक्त गीतको लोकार्पण प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबमार्फत आज एक कार्यक्रमबिच गर्नुभएको थियो । उक्त गीत सार्वजनिक गर्दै उहाँले दुःखद् घटनापछि सकारात्मक सन्देश दिने काम यो गीतले गरेको उल्लेख गर्नुभयो । क्यान्सरजस्तो रोग सहज र सरल रूपमा उपचारको व्यवस्था गर्न सरकारले ध्यान दिनुपर्ने र मिडियाले पनि त्यसका लागि सकारात्मक कलम चलाउनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अकालमा कसैको पनि मृत्यु नहोस् भनेर राज्यलाई लोककल्याणकारी काम गर्न गीतसङ्गीत र समाचारमार्फत घच्घचाउनुपर्छ ।” प्रेस काउन्सिलले सामाजिक सञ्जालको राम्रो प्रयोग गरौँ भनेर आह्वान गरिरहेको र यो गीत युट्युबमार्फत सार्वजनिक गरेर यसको रचनात्मक प्रयोग भएको अध्यक्ष बस्नेतले बताउनुभयो । अरू किसिमका धेरै गीत आइरहेको भएपनि श्रद्धाञ्जली गीत आफैँमा नौलो प्रयोग भएको र यसले गर्दा सशरीर नभेटिने मानिससँग पनि युगौँ युगसम्म भेट भइरहने उहाँले बताउनुभयो ।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाालले यो गीतले शोकलाई शक्तिमा बदल्नका लागि प्रेरणा दिने र गीतमार्फत नै सम्झना रहिरहने उल्लेख गर्नुभयो ।

गीतकार खनालले आफूले श्रीमती अनिताको निधन भएका बेला उक्त गीत लेखिएको भएपनि त्यसलाई स्मृति दिवस पारेर सार्वजनिक गरेको बताउनुभयो । महिलाहरूमा पाठेघर र स्तन क्यान्सरको जोखिमबारे सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

गायक मातृका आचार्य र सङ्गीतकार पुरुषोत्तम न्यौपानेले यो गीतका शब्दहरू मर्मस्पर्शी भएको र अथक प्रयास गरेर छोटो समयमा नै राम्रो बनाउन प्रयास गरिएको बताउनुभयो । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) खनाल कविता, गीत, निबन्धमा कलम चलाउन रुचाउँछन् भने मिडिया र राजनीतिक विश्लेषणमा पनि उनका विचारहरू सार्वजनिक हुने गरेको पाइन्छ ।