उपनिर्वाचनको नतिजा निराशाजनक छैन तर समीक्षा गर्छौँ : ईश्वर पोखरेल

उपनिर्वाचनको नतिजा निराशाजनक छैन तर समीक्षा गर्छौँ : ईश्वर पोखरेल


काठमाडौं । सत्तारुढ दल नेकपा एमाले का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्ने बताउनु भएको छ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले उपनिर्वाचनको समग्र प्रतिवेदन आएपछि पार्टीका तर्फबाट भएका कमी, कमजोरीबारे समीक्षा गर्ने बताउनु भएको हो ।

उहाँले २०७९ सालको निर्वाचनमा पराजित भएका केही ठाउँमा समेत नेकपा एमाले विजयी भएको बताउनु भयो । उहाँले स्थानीय तहको निर्वाचनलाई लिएर निराश हुनुपर्ने कारण नरहेको बताउनुभयो ।

आफ्नो पकड क्षेत्र भएका ठाउँमा पनि मत घटेकोप्रति समीक्षा गर्ने बताउनुभयो । उहाँले काठमाडौंको कीर्तिपुर नगरपालिकाको परिणाम आफ्नो पक्षमा नरहेपनि गत निर्वाचनको भन्दा प्रगति भएको दाबी गर्नुभयो ।

उहाँले अहिले पुराना राजनीतिक दलहरू आउटडेटेड भए भन्ने भाष्य खडा गरिए पनि जनमतबाट पुष्टि हुन नसकेको बताउनुभयो ।

जनताले अहिले पनि पुराना राजनीतिक दलहरूमा आशा र विश्वास कायमै राखेको उहाँको दाबी छ । उहाँले राष्ट्रिय राजनीतिमा पुराना दलहरूको भूमिका कमजोर भन्ने कुरालाई जनताले अस्वीकार गरेको बताउनुभयो।

उपनिर्वाचनबाट एमालेले निर्वाचनसँग गाँसिएका कुराहरूमा थप व्यवस्थित ढंगको व्यवस्थापन गर्नुपर्छ भन्ने पाठ सिकेको र त्यही आधारमा अघि बढ्ने उहाँको भनाइ छ ।