टुकुचा खोलाको ढलमा भेटिएको जीवाणु संक्रामक पोलियो जीवाणु नभएको पुष्टि

टुकुचा खोलाको ढलमा भेटिएको जीवाणु संक्रामक पोलियो जीवाणु नभएको पुष्टि


काठमाडौं । गत असारमा टुकुचा खोलाको ढलमा भेटिएको जीवाणु पोलियो संक्रामक नभएको पुष्टि भएको छ ।

थाइल्याण्डको बैंककमा गरिएको नमूना परीक्षणबाट उक्त जीवाणु पोलियो संक्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले जानकारी दिइन् ।

‘टुकुचा खोलामा भेटिएको पोलियो भाइरस सर्‍यो वा सरेन भन्ने यकिन गर्न हामीले खोलामा मिसाइएको ढल र अन्य ठाउँबाट नमूना संकलन गरेर पटक-पटक परीक्षण गर्दा पुनः पोलियो भाइरस भेटेनौँ,ु उनले भनिन्, ‘यदि उक्त भाइरस संक्रामक भएको भए खोलाको ढलको नमूनामा फेरि त्यो भेटिन्थ्यो । पोलियो भाइरस नदेखिएपछि हामीले संक्रमित होइन भनेर पुष्टि गर्‍यौँ ।’

गत असारमा काठमाडौं महानगरपालिका-१२, त्रिपुरेश्वर नजिकै बागमती र टुकुचा खोलाको संगमबाट नमूना संकलनपछि परीक्षण गर्दा पोलियो फेला परेको थियो । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा। अभियान गौतमले टुकुचा खोलामा पोलियो जीवाणु देखिएपछि निरन्तर नमूना संकलन गरेर १३ पटक परीक्षण गर्दा पुनः नभेटिएको बताए ।

सन् २०१७ देखि खोप शाखाले ढलबाट नमूना संकलन गरेर पोलियो जीवाणु परीक्षण गर्दै आएको छ । काठमाडौंका उपत्यकाका बागमती, धोबीखोला, मनहरा, विष्णुमतीबाट नमूना संकलन गरेर महिनाको दुईपटक यस्तो परीक्षण गर्दै आएको खोप शाखा प्रमुख डा। गौतमले बताए । काठमाडौं उपत्यका बाहिर पोखरा, विराटनगर र जनकपुरका एक-एक स्थानबाट नमूना लिएर महिनाको एकपटक पोलियो जीवाणुको परीक्षण हुने गरेको छ ।

सन् २०१० यता मुलुकमा पोलियो संक्रमण भेटिएको छैन । पोलियो जीवाणुबाट फैलिने पोलियो संक्रामक रोग हो । पोलियो संक्रमणका बिरामीलाई ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुनेलगायत लक्षण देखिन्छन् ।