वासिङटन डीसी । अमेरिकामा जंक फुड खाएकै कारण एक बालकले सधैँका लागि आफ्नो दृष्टि गुमाएका छन् । न्यू इंगल्यान्ड जर्नल अफ मेडिसिनका अनुसार अटिजमबाट पीडित १२ वर्षका ती बालकले सधैँ बर्गर, दुनोट र गुलिया जुसहरू खाइरहन्थे । यसरी खाने क्रममा अन्ततः उनी सधैँका लागि अन्धो भए ।
बालक खानेकुराको निश्चित बनावट देखेर डराउँथे । त्यसैले उनको आहारमा पोषिलो खानेकुरा समावेश गर्न मातापिताका लागि असाध्य भयो । यो वर्षको सुरुमा बालकको दृष्टि कमजोर हुन थाल्यो । यस्तो खासगरी बिहान र साँझको समयमा हुन्थ्यो । दिनको समयमा दृष्टि सामान्य नै थियो । तर छिटै नै उसको दृष्टि धमिल्लिदै गयो र छ हप्ताभित्र बाआमाले नडोर्याएर हिँड्नै नसक्ने भए । त्यसपछि एक राति ब्युँझिँदा उनी पूरै अन्धो भए ।
बालकको मातापिताले उनलाई अस्पताल लगे । पोषक तत्त्वको अभावका कारण आँखाको स्नायु बिग्रिएको थाहा भयो । डाक्टरहरूले पूरक तत्त्वहरू दिन सुरु गरेपनि उनको दृष्टि फिर्ता ल्याउन सकेनन् । जंक फुड खाएकै कारण अन्धो भएको घटना यसअघि पनि अमेरिका र बेलायतमा देखिएका छन् ।
प्रतिक्रिया