वीरगञ्ज महानगरले एकसाथ १० हजार किशोरीलाई आत्मरक्षा तालिम दिने

वीरगञ्ज महानगरले एकसाथ १० हजार किशोरीलाई आत्मरक्षा तालिम दिने


काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले एकैपटक १० हजारभन्दा बढी किशोरीहरुलाई आत्मरक्षाका लागि तालिम दिने भएको छ।

महानगरभित्रका कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई तालिम दिन लागिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए।

बुधबार बिहान १० बजेबाट सुरु हुने प्रशिक्षण कार्यक्रममा वीरगञ्जका सामुदायिक र निजी विद्यालय, क्याम्पस गरी १० हजार बढी छात्राहरुको सहभागिता रहने उनले बताए।

एकसाथ १० हजारभन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर वर्ल्ड रेकर्डसहित गिनिज बुकमा धेरै किशोरीलाई एकसाथ तालिम दिएर महानगरको नाम लेखाउने तयारीसमेत भएको उनले बताए।

यो तालिम सफल रुपमा सम्पन्न भए वीरगञ्जको नाम अन्तर्राष्ट्रिय रुपमा चर्चित हुने हुँदा आम नगरवासीलाई कार्यक्रम सफल पार्न पनि आग्रह गरे।

वीरगञ्ज महानगरपालिकाको आयोजना तथा नेपाल—भारत सहयोग मञ्चको समन्वयमा भारतका ख्यातिप्राप्त मार्सल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश सेट्टीलाई बोलाएर सहभागीहरुलाई प्रशिक्षण दिन लागिएको महानगका उपप्रमुख इम्तियाज आलमले जानकारी बताए।

आदर्शनगर रंगशालामा हुने प्रशिक्षणको सम्पूर्ण तयारी भइसकेको र छात्राहरुलाई ल्याउने लैजाने व्यवस्थासहित सुरक्षाको व्यवस्था मिलाइसकिएको महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिए।