ट्रम्पले जित्दा एकैदिन तोलामा ४ हजार घट्यो सुन

ट्रम्पले जित्दा एकैदिन तोलामा ४ हजार घट्यो सुन


काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ४ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २०१५ रुपैयाँ रहेको चाँदी यस दिन १९६० मा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले नेपालमा प्रभाव देखिएको हो । अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा दैनिक मूल्य समायोजन हुँदै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एकैदिन ३।२ प्रतिशत हाराहारीमा घटेको छ । बुधबार सुरुवाती कारोबारमा प्रतिऔंस २७४५ अमेरिकी डलर रहेको सुन बिहीबार सुरुवाती समयमा २६५७ सम्म झरेको थियो ।

अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रप निर्वाचित भएसँगै डलर मजबुत हुँदा सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पको पुनरागमनले मुद्रास्फिति बढ्न सक्ने अनुमान गरिएको छ ।