काठमाडौं । अब बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा तीन पुस्ते विवरण भर्न नपर्ने भएको छ । बैंकमा खाता खोल्दा अनिवार्य भर्नु पर्ने केवाईसी विवरणहरू नभरे हुने भएको छ । यसभन्दा अघि बैंकमा खाता खोल्दा अनिवार्य रूपमा तीन पुस्ते विवरण राख्नु पर्ने व्यवस्था थियो ।
सरकारले कार्तिक १५ गते सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावलीबाट बैंकमा खाता खोल्दा व्यक्ति गत र परिवारको विवरण राष्ट्रिय परिचयपत्रको अभिलेखबाट विवरण लिन सकिने बताएको हो ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावलीको नियम ३ मा ग्राहक पहिचान विद्युतीय माध्यमबाट गर्न सकिने उल्लेख गरेको छ ।
सम्पत्ति शुद्धीकरण निवारण नियमावलीको दफा ७ क बमोजिम सूचक संस्थाले ग्राहकको पहिचान गर्दा नेपाल सरकारको विद्युतीय अभिलेखमा राखेको व्यक्तिगत विवरण आफ्नो आन्तरिक प्रणालीमा लिई ग्राहक पहिचान गर्न सक्ने व्यवस्था गरेको छ ।
सूचक संस्थाले आवश्यक पर्ने सूचना प्राप्त गर्दा राष्ट्रिय परिचयपत्रमा सम्बन्धित ग्राहकले उल्लेख गरेको मोबाइल नम्बरको आधारमा विवरण प्राप्त गर्ने छ ।
ग्राहकाको अनुमति भने लिनु पर्ने छ । अनुमतिपछि राष्ट्रिय परिचयपत्रमा भएको विवरण प्रयोग गर्न पाइने छ ।



प्रतिक्रिया