एनपीएलको अक्सन आज

एनपीएलको अक्सन आज


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को खेलाडी अक्सन आज हुदै छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आज दिउँसो २ बजेदेखि एनपीएलको खेलाडी अक्सन हुने भएको छ।

अक्सनका लागि १४२ खेलाडी छनौट गरिएको छ। क्यानका अनुसार कुल ४२६ खेलाडीले आफ्नो नाम दर्ता गराएकोमा त्यसबाट एनपीएल तयारी समितिले १४२ खेलाडी छनोट गरेर अक्सनमा सहभागी गराएको छ।

नेपाली फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ। क्यानले असोज ५ देखि १२ सम्म खेलाडी दर्ताका लागि खुला गरेको थियो। अक्सनका लागि ग्रेड ‘ए’ मा २७, ग्रेड ‘बी’ ३८ र ग्रेड ‘सी’ ७७ खेलाडी रहेका छन्। प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहने छ।

एनपीएलमा सहभागी हुने टिममा सुदूरपश्चिम रोयल्स, काठमान्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स रहेका छन्।

यसअघि एनपीएलका फ्रेन्चाईजीका मार्की खेलाडी छानिएको छ । जसमा करण केसी काठमाडौँ फ्रेन्चाईजीका मार्की खेलाडी बनेका छन् भने कुशल भुर्तेल पोखराको मार्की खेलाडी बनेका छन्। त्यसैगरी कुशल मल्ल चितवनको मार्की खेलाडी बनेका छन् भने सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी बनेका छन्।

त्यस्तै राष्ट्रिय टिमका कप्तान रोहित पौडेल लुम्बिनीको मार्की खेलाडी बनेका छन् भने आसिफ सेख जनकपुरको मार्की खेलाडी बनेका छन्। त्यस्तै सोमपाल कामी कर्णालीको र दिपेन्द्र सिंह ऐरी सुदूरपश्चिम फ्रेन्चाईजीको मार्की खेलाडी बनेका छन्। क्यानले मार्की खेलाडीको पारिश्रमिक २० लाख हुने जानकारी दिएको छ।