प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चार दिने डडेल्धुरा बसाइपछि आइतबार काठमाडौं फर्कनुभएको छ । श्रीमती आरजु राणा देउवामार्फत मनोनयन दर्ता गराउनुभएका देउवाले चार दिनमा सात वटा चुनावी सभालाई सम्बोधन गर्नुभयो । ६ पटक डडेल्धुराबाट विजयी हुनुभएका देउवाले आफ्नो सातौं चुनावी यात्रामा पनि पूरानै आश्वासनलाई दोहोर्याउनु भएको छ ।
०४८ सहितका ६ वटै संसदीय निर्वाचन जित्दै आउनुभएका शेरबहादुर देउवाले हरेक पटक जिल्लावासीलाई दिँदै आएका आश्वासन अझै पूरा भएका छैनन् । सातौं चुनावी यात्रामा पनि देउवाले जिल्लाका सात पालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दा पुरानै एजेण्डा दोहो¥याउनु भयो ।
सात पालिकाका सात ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुग्नुभएका देउवाको भाषण सुन्न गाउँगाउँबाट हजारौं डडेल्धुरावासी पुगेका थिए । प्रधानमन्त्री देउवाको डडेल्धुरा आगमनले भने मतदातामा उत्साह देखिन्थ्यो । देउवाको नाममा जिल्लामा राजनीति गर्दै आएका नेताहरुप्रति भने मतदाता रुष्ट देखिन्थे ।
६ पटक सांसद, एक पटक गृहमन्त्री र पाँचपटक प्रधानमन्त्री बन्नु भएका देउवाले आफूलाई अन्तिमपटक भोट मागिरहनुभएको छ । देउवाले जिते प्रधानमन्त्री र अन्यलाई जिताउँदा सांसद मात्रै बन्ने कांग्रेसको प्रचारले पनि उहाँको अपराजित यात्रामा पूर्णविराम लगाउन मुस्किल देखिन्छ । अर्कातर्फ डडेल्धुराका ग्रामिण क्षेत्रसम्मै पुगेको सडक सञ्जाल र विद्युतको पहुँचका पछाडि देउवाकै भूमिका रहेको अधिकांश मतदाताको बुझाइ छ ।
पश्चिम सेती निर्माणका लागि भारतीय सरकारी कम्पनीसँग सम्झौता भएको, विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन भइसकेको, मेडिकल कलेज सञ्चालनका लागि डिन नियुक्त भइसकेको र स्तरिय सडक सञ्जालका लागि बजेट विनियोजन भइसकेको भन्दै देउवाले भोट माग्दै आउनुभएको छ । तर यी योजना चुनावका लागि मात्रै हुन् भन्ने आशंका डडेल्धुरावासीमा छ । देउवा भने अबको ५ वर्षमा डडेल्धुराले विकासमा फड्को मार्ने दाबी गर्नुहुन्छ ।
पाँच पटक प्रधानमन्त्री हुँदा पनि प्रधानमन्त्री देउवाले जनअपेक्षाअनुसार काम गर्न नसकेको चौतर्फी गुनासो छ । पछिल्ला चार निर्वाचनमा त देउवा भोट माग्नका लागि गाउँगाउँ जान पनि छोडिसक्नुभएको छ । तैपनि उहाँले निर्वाचन जित्दै आउनुभएको छ । यस निर्वाचनमा त्यो साथ निरन्तर जारी रहन्छ वा रहँदैन हेर्न बाँकी छ।
प्रतिक्रिया