मस्कले एक्समा ट्रम्पसँग लिए अन्तर्वार्ता, के-के भए कुराकानी ?

मस्कले एक्समा ट्रम्पसँग लिए अन्तर्वार्ता, के-के भए कुराकानी ?


अमेरिकी पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प सोसल मिडिया प्लेटफर्म एक्स (पुरानो ट्वीटर) मा फर्किएका छन्।

उनले हाल एक्स प्लेटफर्मका मालिक एलन मस्कलाई प्रत्यक्ष अन्तर्वार्ता दिएका हुन्।

यो अन्तर्वार्ता निर्धारित समयभन्दा अलि ढिलो सुरु भएको थियो। जसका लागि मस्कले साइबर आक्रमणलाई जिम्मेवार ठहर्‍याएका छन्।

ट्रम्पले मस्कलाई ‘सबै रेकर्ड तोडेकोमा’ धन्यवाद समेत दिएका छन्।

एलनले ट्रम्पको हत्या प्रयासको घटनाबाट कुराकानी सुरु गरेका थिए।

आफ्नो अनुभवको बारेमा विस्तृत कुरा गर्नुअघि ट्रम्प हाँस्न थाले। उनले यो सुखद नभएको बताए।

अन्तर्वार्तामा मस्क र ट्रम्पले धेरै विषयमा कुरा गरे।

अन्तर्वार्तामा डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीको राष्ट्रपति पदका उम्मेदवार र उपराष्ट्रपति कमला ह्यारिसको बारेमा पनि कुरा गरे। ट्रम्पले कमला ह्यारिसको आलोचना गरेका थिए।

उनले डेमोक्र्याटिक पार्टीको राष्ट्रपति पदका उम्मेदवार बनेपछि ह्यारिसले अहिले दिएजस्तो अन्तर्वार्ता नदिएको आरोप समेत लगाएका छन्।

इजरायलको मिसाइल रक्षा प्रणाली आइरन डोम सुरक्षा कवचको रूपमा रहेको छ।

ट्रम्पले भने, ‘हामीसँग किन आइरन डोम छैन ? इजरायलसँग छ।’

आइरन डोम छोटो दूरीका हतियारबाट हुने आक्रमणलाई रोक्न प्रभावकारी हुन्छ। यो सन् २००६ मा अमेरिकी सहायताबाट इजरायली कम्पनीहरूद्वारा निर्माण गरिएको थियो।

ट्रम्पले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनलाई चिन्ने बताए। उनले पुटिनलाई युक्रेनमा आक्रमण नगर्न आग्रह गरेको तर पुटिनले नसुनेको पनि बताए।

ट्रम्पले बाइडेन राष्ट्रपति नभएको भए रुसले युक्रेनमा आक्रमण नगर्ने बताए। यसबारे मस्कले ट्रम्पलाई उनले सही कुरा गरेको बताएका थिए।

ट्रम्पले भने, ‍’मेरो पुटिनसँग निकै कुरा मिल्छ र उनले मलाई सम्मान गर्छन्।’ उनले पुटिनसँग बारम्बार कुरा गरेको पनि बताए।

जनवरी ६, २०२१ मा क्यापिटल हिलमा भएको दंगापछि ट्रम्पलाई यस प्लेटफर्मबाट दुई वर्षको लागि प्रतिबन्ध लगाइएको थियो।

एक्स र फेसबुकजस्ता धेरै सोशल मिडिया प्लेटफर्महरू प्रतिबन्धित भएपछि ट्रम्पले आफ्नै सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशल सुरु गरेका थिए।

यहाँ ट्रम्पका ७५ लाख फलोअर्स छन्। जबकि एक्समा उनलाई ८८ मिलियन मानिसहरूले पछ्याउँछन्।