भ्रष्टाचारको आरोपमा थुनामा रहेकी बङ्गलादेशकी पहिलो महिला प्रधानमन्त्री जिया थुनामुक्त हुने

भ्रष्टाचारको आरोपमा थुनामा रहेकी बङ्गलादेशकी पहिलो महिला प्रधानमन्त्री जिया थुनामुक्त हुने


काठमाडौँ । बङ्गलादेशकी पहिलो महिला प्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेता खालिदा जिया थुनामुक्त हुने भएकी छन्।

भ्रष्टाचारको आरोप लागेपछि जेलमा रहेकी उनलाई बङ्गलादेशका राष्ट्रपति मोहमद शहाबुद्दिनले थुनामुक्त गर्न आदेश दिएका हुन्। बंगलादेश नेशनलिस्ट पार्टी ९बिएनपी० की अध्यक्ष जियालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय सुनाइएको थियो।

विद्यार्थी आन्दोलन नियन्त्रणबाहिर गएपछि सोमबार प्रधानमन्त्री शेख हसिना राजीनामा दिँदै देश छाड्न बाध्य भएकी थिइन्। बङ्गलादेशको दैनिक पत्रिका द डेली स्टारका अनुसार बङ्गलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सोमबार गरेको प्रतिपक्षी दलका नेताहरू सम्मिलित बैठकमा यो विषय उठेको र पूर्व प्रधानमन्त्री जियालाई यथाशीघ्र छाड्ने निर्णय भएको हो।

समाचारमा बैठकले विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई हिरासतमुक्त गर्ने निर्णय पनि गरेको लेखिएको छ। बङ्गलादेशमा सेनाले अहिले अन्तरिम सरकार गठनका लागि अग्रसरता लिएको छ । तर, यसको नेतृत्व कसले गर्छ भन्ने टुङ्गो लागिसकेको छैन।एजेन्सी