बंगलादेश आन्दोलनको प्रभाव : निर्यातका लागि लोड गरिएका ११ कन्टेनर काँकरभिट्टामा रोकिए

बंगलादेश आन्दोलनको प्रभाव : निर्यातका लागि लोड गरिएका ११ कन्टेनर काँकरभिट्टामा रोकिए


भद्रपुर (झापा) । बंगलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकरभिट्टामा रोकिएका छन् । बंगलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल बंगलादेश व्यापारमासमेत् परेको हो ।

गत असारको अन्तिमबाट ठप्प भएको बंगलादेशसँगको व्यापार केही दिनदेखि सामान्य अवस्थामा फर्किन थालेको थियो । फेरी आजदेखि तीन दिनका लागि बन्द भएको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार नेपाल, भारत, भूटानको त्रिदेशिय नाका फुलबारी–बङ्लाबन्धमा केही कन्टेनर रोकिएका छन् । त्यस्तै बंगलादेशबाट नेपालका लागि लोड भएका कन्टेनर पनि बंगलादेशतर्फ नै रोकिएका छन् ।

‘बंगलादेशमा फेरी आन्दोलनले उग्र रुप लिएकाले आयात निर्यातमा प्रभाव परेको छ, स्थिति कहिलेसम्म सामान्य हुने हो भन्न सकिने अवस्था छैन’, उनले भने।

पारवहन कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८१र०८२ मा ११ दिनमा एक करोड ३५ लाख ८९ हजार पाँच सय ६३ रुपैयाँ बराबरको सामग्री निर्यात र २० करोड ६५ लाख ६२ हजार ७३ रुपैयाँको आयात भएको छ ।

मेची भन्सार कार्यालय काकरभिट्टाको तथ्याङ्क अनुसार दाल, जडिबुटि, मोलासिस, खाद्य पदार्थ, पशु आहाराको कच्चा पदार्थ, खयर कत्था, रङ्गरोगनका पदार्थ बङ्लादेश निर्यात हुन्छ ।

यसैगरी जुट, भटमासको पिना, एलोपेथिक औषधि, लिड एसिड ब्याट्री, कपडा, फलफुलको जुस, ग्लास सिट, बिस्कुट तथा चकलेटलगायतका सामग्री आयात हुने गरेका छन् ।

आन्दोलन चर्किँदै गएपछि बंगलादेशको विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका अधिकांश नेपाली विद्यार्थी स्वदेश फर्किसकेका छन् ।