काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सहकारीमा देखिएका विकृतिलाई समाधान गर्दै सहकारी आन्दोलनलाई सबल र प्रभावकारी बनाउदै जानुपर्ने बताएका छन्।
सोमबार राष्ट्रिय समाचार समितिसँगको कुराकानीका क्रममा उनले भने ‘समस्या जहाँ छन् त्यहाँ प्रवेश गरेर समाधान गर्नुपर्छ। सहकारीमा देखिएका विकृतिलाई समाधान गर्दै सहकारी आन्दोलनलाई सबल, सशक्त र प्रभावकारी बनाएर जानुपर्छ।,
‘सहकारी क्षेत्रमा देखिएको समस्या सम्बोधन गर्नका लागि सरकारले शीघ्र प्रभावकारी र परिणाममुखी प्रयास अगाडि बढाउँछ। हामी यसलाई विलम्ब गर्ने, कुनै ढिलाढाला गर्ने पक्षमा छैनौँ,’ उनले भने, ‘शीघ्र प्रभावकारी प्रयास गर्छौं। नियमनको व्यवस्था गरेर साँचो अर्थको सहकारीको प्रवद्र्धन गर्ने काममा सरकार अगाडि बढ्छ।’
उनले हदसम्म लघुवित्त क्षेत्रमा दे्खिएका समस्या समाधानको दिशामा गइरहेको दाबी गरेका छन्।
‘मलाई लाग्छ धेरै हदसम्म लघुवित्त क्षेत्रका देखिएका समस्या समाधान हुने दिशामा गएको छ। सहकारी क्षेत्रमा अलिकति विकराल, जटिल देखिएको र कठिन भएको सत्य हो,’ अर्थमन्त्री पौडेलले भने, ‘कतिपयले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सहकारी आन्दोलनको औचित्यमाथि प्रश्न उठाएको पाउछौँ। त्यो ठीक तरिका होइन।’
सहकारी क्षेत्रमा देखिएको समस्याले सहकारी आन्दोलनको औचित्यलाई खण्डित गर्न नसक्ने उनको भनाइ थियो।



प्रतिक्रिया