शिथिल अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनु अहिलेको मुख्य चुनौती हो : अर्थमन्त्री

शिथिल अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनु अहिलेको मुख्य चुनौती हो : अर्थमन्त्री


ललितपुर । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिथिल अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनु अहिलेको मुख्य चुनौती रहेको बताएका छन् ।

आज भैसेपाटीस्थित मन्त्री निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्थमन्त्री पौडेलले विद्यमान संसदीय र राजनीतिक व्यवस्थाअनुसार बन्नसक्ने सबैभन्दा बलियो सरकार अहिले बनेको र राजनीतिक अस्थिरताको प्रतिच्छाया मुलुकको अर्थतन्त्रमा पर्ने अवस्था नरहने स्पष्ट पारेका हुन् ।

“नेपाली अर्थतन्त्र अहिले दबाबमा छ । यो अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नका निम्ती अर्थतन्त्रलाई चलायमान गर्न जरुरी छ र अर्थतन्त्रमा जे जति समस्या देखिएका छन्, ती समस्यमा प्रवेश गरेर समाधान खोज्दै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता हो”, पौडेलले भने, “शिथिल अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनु अहिलेको मुख्य चुनौती हो । यसका निम्ती अर्थतन्त्रका सबै सम्बाहक पक्षलाई त्यहाँ रहेको समस्यामै प्रवेश गरेर समाधान खोज्न हामी केन्द्रित हुनुपर्नेछ ।”

“अहिलेको व्यवस्थामा बन्नसक्ने बलियो र दिगो सरकार यही हो । लामो इतिहास भएका र व्यवस्था बदल्न योगदान गरेका दुई ठूला दल मिलेर सरकार बनाएका छन् । राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा प्रभाव पार्ने अवस्था अब हामी आउँन दिँदैनौं भन्ने सन्देश दिएका छौँ”, उनले भने, “निजी क्षेत्रलाई उत्साहित भएर उत्पादनमा, लगानीमा केन्द्रित हुनका निम्ती सरकारले प्रोत्साहित गर्छ । सरकारले अविभावकको भूमिका निर्वाह गर्छ भन्ने अनुभूति दिलाउन चाहान्छौँ ।”

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० मिलेर स्थिर सरकार गठन भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अब निजी क्षेत्रले भरोसायोग्य अविभावक पाएको बताए । अर्थतन्त्रमा समस्या देखिएका हरेक क्षेत्रलाई मिहीनढङ्गले विश्लेषण गरेर त्यसको समाधान खोजिने पनि उनको भनाइ छ ।

 

कतिपय आर्थिक सूचकहरु नकारात्मक रहेको उल्लेख गर्दै उनले समग्र मागमा न्यूनता आएको, राष्ट्रिय उत्पादन घटिरहेको र त्यसको प्रभाव रोजगारीमा परेको बताए । “राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेको छैन । पुँजीगत खर्च सन्तोषजनक ढङ्गले गर्न सकिरहेका छैनौँ । समग्रतामा भन्दा नेपाली अर्थतन्त्र शिथिल नै छ”, उनले भने ।