पोडवे निर्माणले पायो बजेट, गोरखाको बारपाक, बुङकोट, गोर्खा बजार, मनकामना, बेनीघाटसम्म संभावता अध्ययन गर्ने

पोडवे निर्माणले पायो बजेट, गोरखाको बारपाक, बुङकोट, गोर्खा बजार, मनकामना, बेनीघाटसम्म संभावता अध्ययन गर्ने


सरकारले पोडवे निर्माणको बजेट विनियोजन गरेको छ।यातायातको नयाँ प्रविधिको रुपमा नेपाल भित्रिएको पोडवे निर्माणको ढाँचा र संभावयता अध्ययन गर्ने भएको हो।
गोरखाको बारपाक, बुङकोट, गोर्खा बजार, मनकामना, बेनीघाटसम्म पोडवेको संभावता अध्ययन गर्ने बजेट छुट्याएको छ। नेपालमा नयाँ रहेको यो प्रविधिबारे बजेटमा समावेश गरिएपछि धेरैले यसबारे चासो राखिरहेका छन् । अर्थमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र गोरखामा यसको सम्भाव्यता अध्ययन गरिने बजेटमा उल्लेख गरेका छन् ।

पृथ्वी राजमार्गको विमलनगरदेखि गोर्खाको लिगलिगकोट(भच्चेक(बारपाक(बुङकोट(गोरखाबजार(मनकामना(बेनीघाटसम्म पोडवे यातायात प्रणालीको सम्भाव्यता अध्ययन र लगानी ढाँचा तय गरी निर्माण कार्य अगाडि बढाउने घोषणा गरेको हो । नेपालको लागि पोडवे यातायात प्रविधि नौलो हो ।

झट्ट हेर्दा केवलकार जस्तो देखिए पनि यसलाई सार्वजनिक यातायातको रुपमा विकास गर्न सकिने सरोकारवाला बताउँछन् । यातायात पूर्वाधार विज्ञ आशिष गजुरेलले पोडवे नेपालका लागि सुहाँउदो प्रविधि रहेकोले राज्यले यसलाई प्राथमिकता दिनु सकारात्मक रहेको बताए । ‘बजेटमा पोडवेको सम्भाव्यता अध्ययन गर्ने विषय समेटिनु राम्रो हो,’ गजुरेलले भने, ‘नयाँ प्रविधिलाई राज्यले गम्भीरतापूर्वक लिनु सकारात्मक छ । यो नेपालका लागि उपयुक्त भएको पाएको छु ।’

नेपालमा सार्वजनिक यातायातमा सुधार आवश्यक रहेको भन्दै उनले भूगोल अनुसार पोडवे विकल्प हुन सक्ने बताए ।

उनले भने, ‘हामीलाई सार्वजनिक यातायातमा सुधार चाहिएको छ । यातायातका नवीनतम सुविधामध्ये पोडवे एक हो । पोडवे रेलको कम्प्याक्ट फर्म हो ।’

नेपालको भूगोलअनुसार पनि पोडवे विकल्प हुन सक्ने आफ्नो प्राविधिक विश्लेषण रहेको उनले सुनाए ।

केबलकार पर्यटकीय रुपमा नेपालमा बढी प्रयोग भइरहेको भन्दै गजुरेलले पोडवे भने सार्वजनिक यातायातका लागि उपयुक्त हुने बताए । केबलकारमा गोन्डोला नभइ तार हिँड्ने र तार हिँडेपछि मानिस बस्ने गोन्डोला पनि चल्ने भए पनि पोडवेमा भने फरक हुने उनी बताउँछन् ।

पोडवे रेलवे प्रविधिको कम्प्याक्ट रुप भएको उनले जानकारी दिए । ‘पोड्लाई अड्काउन बलियो सिस्टमको व्यवस्था गरिएको हुन्छ । त्यहाँ अड्किएर झुन्ड्याइएको रेलमा पोडमा भएको पाङ्ग्रा गुडेर पोड र त्यसमा बस्ने यात्रु अगाडि बढ्ने हुन्छ,’ उनले भने, ‘केबलकार रोपवे सिस्टम हो भने पोडवे रेलवे सिस्टम हो । रेल्वेको कम्प्याक्ट रुप पोडवे हो ।’

आफूहरुले सरकारलाई दिएको सुझावअनुसार सकारात्मक रुपमा लिँदै बजेटमा अध्ययन गरिने उल्लेख भएकामा उनले खुसी व्यक्त गरे । अध्ययनले सम्भाव्य देखिए अघि बढ्ने सरकारले भनेकाले अहिले नै नकारात्म टिप्पणी गर्न नहुने उनले बताए ।

‘बजेटमै सुरूमा अध्ययन गरिने र अध्ययनले सम्भाव्य देखिए अघि बढ्ने भनिएको छ,’ उनले भने, ‘अध्ययनै नगरी यो नराम्रो भन्ने धारणा नबनाऔं । अध्ययनका क्रममा आर्थिक, सामाजिक तथा प्राविधिक पाटोबारे बुझ्न सकिनेछ । अहिले नै नकारात्मक टिप्पणी गर्नु थाल्नु उचित होइन । सुरूमा नकारात्मक भइयो भने नयाँ कामको सुरूवात हुन सक्दैन ।