शिक्षा विधेयकविरुद्ध निजि विद्यालयको आन्दोलन स्थगित

शिक्षा विधेयकविरुद्ध निजि विद्यालयको आन्दोलन स्थगित


काठमाडौं — सरकारले ल्याउन लागेको शिक्षा विधेयकविरुद्ध लामो समयदेखि आन्दोलनरत निजी विद्यालय सञ्चालकहरूको संयुक्त आन्दोलन समिति द्वारा भदौ २४ र २५ गतेका लागि घोषणा गरिएको आन्दोलन स्थगित भएको छ।

समितिले जारी गरेको सूचनामा भनिएको छ, “देशमा जेनेरेसन जेड (Gen Z) ले आह्वान गरेको आन्दोलनका कारण उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राख्दै निजी विद्यालयहरूको आन्दोलन हाललाई स्थगित गरिएको छ। अब अर्को सूचना नआएसम्मका लागि आन्दोलन स्थगित हुनेछ।”

शिक्षा विधेयकमा निजी लगानीका विद्यालयविरुद्ध भेदभावपूर्ण र व्यवहारिक रूपमा कार्यान्वयन असम्भव हुने प्रावधानहरू रहेको भन्दै प्याब्सन, एन-प्याब्सन, हिसान, निसान, एनएमए लगायतका शैक्षिक संस्थाहरू लामो समयदेखि विरोधमा उत्रिएका छन्। उनीहरूले सरकारसँग पटक–पटक छलफल गरे पनि माग सम्बोधन नभएको भन्दै आन्दोलन गर्ने तयारी गरेका थिए।

प्याब्सन केन्द्रीय कार्यसमितिका उपाध्यक्ष रविन्स शर्माले आन्दोलन स्थगित गरिएको जानकारी दिँदै भने,
“हामी लामो समयदेखि विधेयकमा भएका त्रुटिपूर्ण व्यवस्थाहरू सच्याउन आग्रह गर्दै आएका छौँ। तर, अहिले मुलुकमै अर्को ठूलो आन्दोलनको माहोल छ। विद्यार्थी र आम नागरिकलाई झनै तनाव थपिने अवस्था नआओस् भन्ने हेतुले हामीले आफ्नो आन्दोलन अस्थायी रूपमा स्थगित गरेका हौँ। तर, हाम्रो आन्दोलन अन्त्य भएको भने होइन, माग सम्बोधन नभएसम्म हामी फेरि उत्रिनेछौँ।”

संयुक्त आन्दोलन समितिले आगामी दिनमा परिस्थितिको मूल्याङ्कन गरी पुनः आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।