पूर्व मन्त्री शेरबहादुर तामाङको प्रयासमा मेलम्ची–हेलम्बु क्षेत्रमा दर्जनौँ पूर्वाधार आयोजनाले गति लियो

पूर्व मन्त्री शेरबहादुर तामाङको प्रयासमा मेलम्ची–हेलम्बु क्षेत्रमा दर्जनौँ पूर्वाधार आयोजनाले गति लियो


काठमाडौं । विकासका कुरा धेरै सुनिन्छन्, तर जब ती कागजबाट निस्केर जमिनमा देखिन थाल्छन्, तब मात्रै पहलकदमीको सार्थकता प्रमाणित हुन्छ। यही यथार्थलाई व्यवहारमा उतार्दै पूर्व मन्त्री शेरबहादुर तामाङको सक्रिय पहल र राजनीतिक इच्छाशक्तिका कारण मेलम्ची–हेलम्बु क्षेत्रका बहुप्रतिक्षित पूर्वाधार आयोजनाहरूले ठोस रूप लिएका छन्।
स्थानीय बासिन्दाले दशकौँदेखि भोग्दै आएको आवागमनको समस्या समाधान गर्ने उद्देश्यका साथ अघि बढाइएका यी आयोजनाहरूले समग्र क्षेत्रमा आर्थिक, सामाजिक र भौतिक विकासको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।
सबैभन्दा ठूलो परियोजनाको रूपमा मेलम्ची फट्टे–पक्की मोटर पुल निर्माण अघि बढेको छ। करिब ३४ करोड ९७ लाख रुपैयाँ लागतमा बन्ने यो पुल सम्पन्न भएपछि मेलम्ची आसपासका बस्तीहरू मात्र होइन, समग्र सिन्धुपाल्चोकको यातायात सञ्जाल थप सुदृढ हुने विश्वास लिइएको छ।

त्यस्तै, हेलम्बु क्षेत्रको चोक्पु खोला पुल निर्माणका लागि ९ करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको छ। यो पुलले हेलम्बुका दुर्गम बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्दै शिक्षा, स्वास्थ्य र व्यापारिक पहुँच सहज बनाउनेछ।
पूर्व मन्त्री तामाङकै पहलमा मेलम्ची खोला झोलुङ्गे पुल ९थापाटार–पिप्लेचौर–६ भाङ्टार० निर्माण प्रक्रिया अघि बढेको छ, जसको लागत ३ करोड ५ लाख रुपैयाँ रहेको छ। यो झोलुङ्गे पुल स्थानीयवासीका लागि दैनिक जीवन सहज बनाउने महत्वपूर्ण संरचना मानिएको छ। यस्तै, इन्द्रावती गाउँपालिका–११ बिस्देउटार र चौतारा–१४ करेसेडाँडा जोड्ने झोलुङ्गे पुल निर्माणका लागि १ करोड १४ लाख रुपैयाँ सुनिश्चित गरिएको छ। यस पुलले दुई स्थानीय तहबीचको दूरी घटाउँदै सामाजिक तथा आर्थिक गतिविधिलाई गति दिनेछ।

सडक पूर्वाधारतर्फ पनि उल्लेखनीय पहल भएको छ। मेलम्ची–भोताङ सडक, साथै मेलम्ची–दुबाचौर–ककनी–शेर्माथाङ–आमायाङ्ग्री सडक खण्डले क्षेत्रीय विकासको मेरुदण्डका रूपमा काम गर्ने अपेक्षा गरिएको छ। यी सडकहरूले दुर्गम गाउँलाई बजार, सेवा र अवसरसँग जोड्नेछन्। स्थानीयवासीहरूका अनुसार, यी सबै योजनाहरू पूर्व मन्त्री शेरबहादुर तामाङले केन्द्र सरकारसँग निरन्तर समन्वय, दबाब र पहल गरेकै कारण सम्भव भएको हो। विकास केवल भाषणमा सीमित नभई बजेट, योजना र कार्यान्वयनसम्म पुगेको भन्दै उनीहरू सन्तुष्टि व्यक्त गर्छन्।

पूर्व मन्त्री तामाङले यसअघि नै “विकास राजनीतिक नाराको विषय होइन, जनताको दैनिकी परिवर्तन गर्ने माध्यम हो” भन्ने धारणा राख्दै आएका छन्। अहिले मेलम्ची–हेलम्बु क्षेत्रमा अघि बढेका यी आयोजना त्यही सोचको व्यवहारिक उदाहरणका रूपमा हेरिएको छ। स्थानीय स्तरमा रोजगारी सिर्जना, यातायात सहजता, पर्यटन प्रवर्द्धन र समग्र जीवनस्तर उकास्ने विश्वासका साथ अघि बढेका यी परियोजनाहरूले पूर्व मन्त्री शेरबहादुर तामाङको पहलकदमी साँच्चै सार्थक भएको प्रमाणित गरेका छन्।