ग्लोबल आइएमई बैंकले अनलाइनबाटै ५० लाखसम्मको ‘शेयर धितो कर्जा’ दिने, एकै दिनमा स्वीकृति

ग्लोबल आइएमई बैंकले अनलाइनबाटै ५० लाखसम्मको ‘शेयर धितो कर्जा’ दिने, एकै दिनमा स्वीकृति


काठमाडौं । २०८२ पुष १
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूका लागि अनलाइनबाटै शेयर धितो कर्जा दिने भएको छ । बैंकले नवीनतम डिजिटल सेवा अन्तर्गत ‘फास्ट लोन अगेंस्ट शेयर’ अर्थात् शेयर धितो कर्जा योजना सार्वजनिक गरेको हो ।यो योजना अन्तर्गत अब ग्राहकहरूले बैंकमा नगई अनलाइन माध्यमबाटै शेयर धितो कर्जाका लागि आवेदन दिन सक्नेछन् । बैंकले सार्वजनिक गरेको नयाँ सुविधाहरू अनुसार आवश्यक प्रक्रिया पूरा भएको खण्डमा बैंकले एकै दिनमा ऋण स्वीकृति प्रदान गर्नेछ ।

त्यस्तै, बैंकका ग्राहकले आफ्नो योग्य शेयर धितो राखी ५० लाख रुपैयाँसम्मको ऋण प्राप्त गर्न सक्नेछन् । बैंकले यो कर्जा सुलभ तथा प्रतिस्पर्धात्मक ब्याजदरमा उपलब्ध गराउने जनाएको छ ।

यो सुविधा ग्लोबल आइएमई बैंकका ग्राहकहरूका लागि मात्र उपलब्ध हुनेछ । कर्जा लिन चाहने ग्राहकको आफ्नै नाममा योग्य शेयर हुनुपर्नेछ । अनलाइनबाटै सम्पूर्ण प्रक्रिया सुरु गर्न सकिने भएपनि अन्तिम प्रमाणीकरण र सम्झौताका लागि ग्राहकले सम्बन्धित शाखामा एक पटक मात्र उपस्थित भए पुग्ने व्यवस्था बैंकले मिलाएको छ ।