सिद्देस्वर माध्यामिक विद्यालयमा चलचित्र साक्षरता कार्यक्रम सम्पन्न

सिद्देस्वर माध्यामिक विद्यालयमा चलचित्र साक्षरता कार्यक्रम सम्पन्न


धादिङ । सिनेमाको माध्यमबाट शिक्षालाई जीवन्त बनाउने उद्देश्यले सिद्धलेक गाउँपालिका वडा नं। २ स्थित श्री नलाङ पात्ले माध्यामिक विद्यालय र श्री सिद्देस्वर माध्यामिक विद्यालयमा चलचित्र साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको आयोजना चोया डिजिटल सोलुसन प्रा।लि।ले गरेको हो।

कार्यक्रममा ‘झिगेदाउ’ नामक नेपाली चलचित्र प्रदर्शनी गरिएको थियो, जसमा दुई विद्यालयका शिक्षक तथा ५३० जना विद्यार्थीको सहभागिता रहेको थियो। श्री नलाङ पात्ले माध्यामिक विद्यालयबाट ३६० जना र श्री सिद्देस्वर माध्यामिक विद्यालयबाट १७० जना विद्यार्थी सहभागी थिए। कार्यक्रममा चलचित्र विकास बोर्ड, संचार रजिष्टारको कार्यालय बागमती प्रदेश र सिद्धलेक गाउँपालिकाको सहकार्य रहेको थियो। चलचित्र प्रदर्शनपछि विद्यार्थीहरूसँग छोटो अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरिएको थियो।कार्यक्रममा ‘झिगेदाउ’, ‘पुर्णबहादुरको सारङ्गी’ लगायत चलचित्रका चर्चित अभिनेता मुकुल भुषाल, निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजा, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, चलचित्र सम्पादक मित्र गुरुङको उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो। कार्यक्रमको सञ्चालन तिलक गुरुङले गर्नुभएको थियो। चोया डिजिटल सोलुसन प्रा।लि।का अध्यक्ष राज कुमार सिलवालले चलचित्र साक्षरताको अभियानले विद्यार्थीहरूमा दृश्य सञ्चारप्रति रुचि बढाउने विश्वास व्यक्त गर्दै ग्रामीण क्षेत्रमा यस्तो कार्यक्रम निरन्तर चलाउने प्रतिबद्धता व्यक्त गरे। वडा अध्यक्ष सागर गुरुङले चलचित्र शिक्षाले बालबालिकामा सामाजिक चेतना, नैतिक शिक्षा र सिर्जनात्मक सोच विकासमा टेवा पुर्‍याउने बताए।

चलचित्र ‘झिगेदाउ’का प्रमुख अभिनेता मुकुल भुषालले भने, “हामी कलाकारको योगदान मात्र पर्दामा सीमित हुँदैन, समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानमा पनि हामी जिम्मेवार छौं।” निर्देशक ज्ञानेन्द्र देउजाले चलचित्रलाई शिक्षाको एक माध्यमको रूपमा प्रस्तुत गर्न पाउनु गौरवको विषय भएको बताए। चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटाले भने, “चलचित्र पत्रकारिता र साक्षरताबीच गहिरो सम्बन्ध छ। यस्तो कार्यक्रमले भविष्यमा सूचना र सञ्चार क्षेत्रमा लाग्ने युवाहरूको जग बलियो बनाउँछ।”

कार्यक्रममा श्री नलाङ पात्ले माविका प्रधानाध्यापक रमेशमान श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलनारायण श्रेष्ठ, श्री सिद्देस्वर माविका सहायक प्रधानाध्यापक राजन कार्कीलगायतको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले विद्यार्थीहरूलाई चलचित्रको गहिरो सन्देश बुझ्न सहयोग गरेकाले यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको सहभागीहरूबाट प्रतिक्रिया आएको छ।