जुन-जुन कारणले एमाले छोडेको थिँए आज पनि कारणहरु ज्युँकात्युँ छन् केपी ओलीलाई औँला ठड्याउने ठाउँ चाँहि बाँकि रहेनः नेता कुसुमकुमार कार्की

जुन-जुन कारणले एमाले छोडेको थिँए आज पनि कारणहरु ज्युँकात्युँ छन् केपी ओलीलाई औँला ठड्याउने ठाउँ चाँहि बाँकि रहेनः नेता कुसुमकुमार कार्की

संगिता अधिकारी

नेकपा एकीकृत समाजवादी काठमाण्डौका प्रभावशाली नेता कुसुम कुमार कार्कीले पार्टी परित्याग गरेका छन। नेकपा एसका पुर्व केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला कमिटीका पुर्व अध्यक्ष समेत रहिसकेका नेता कार्कीले २०८१ असार २१ महाधिवेशन समाप्त भएको दिन नै पार्टी परित्याग गरेका हुन ।यस पश्चात अब कार्कीको राजनीतिक यात्रा के हो ? पार्टी परत्याग गर्नुको कारण के हो ? नेकपा एकिकृत समाजवादी पार्टी पनि टिके प्रवृतिमा गएको हो ? वा कार्कीले बनाएका योजना पार्टीले अनुसरण गर्ने थिएनन् यी समग्र विषयमा कुसुम कुमार कार्की सँग हेर्नेपोस्टका सम्पादक संगिता अधिकारीले गरेको कुराकानीको सम्पादित अन्तर्वार्ता पढ्नुहोस ।

पार्टी छोड्नु भो ?
हो, छोडेँ ।
तपाईलाई चिन्दा अथवा भनौ तपाईलाई चिन्नेहरुले राजनीतिक व्यक्ति भनेर चिन्छन् । पार्टी छोड्नु भयो भने पछि –आगामी दिनको राजनीतिक पार्टी ? वा राजनीतिक बाटो ? वा राजनीतिलाई कसरी अगाडि बढाउने सोच्नु भएको छ ?
आम नागरिकले पनि राजनीतिमा चासो राख्छन् त्यो स्वभाविक नै हो तर विभिन्न काल खण्डमा राजनीतिक पार्टीको कुनै न कुनै जिम्मेवारीमा रहेको, विभिन्न तहमा विभिन्न समयमा जन प्रतिनिधी निर्वाचित भएको कारणले पनि मलाई राजनीतिक व्यक्ति भनेर चिन्ने कुरा सही नै हो । तर राजनीतिक दलमा बसेर मात्र वा राजनीतिक दलको सदस्य भएर मात्र राजनीति गर्न सकिन्छ भन्ने मानसिकता चाँहि अब हामीले त्याग्नु पर्दछ । नागरिकको एजेण्डा उठाउने कुरा त राजनीतिक दलमा बसेर भन्दा बाहिरै बसेर सजिलो होला जस्तो लाग्यो, मेरो अनुभवले त्यही भन्छ । नागरिकका चासो, चिन्ता, सरोकार र नागरिकका जिवनसंग गाँसिएका विषयमा छलफल गर्न रुची नै नभएका दलको सदस्यता लिएर नागरिकका एजेण्डामा छलफल गर्नु भन्दा स्वतन्त्र, स्वछन्द भएर यो अभियानलाई अगाडि बढाउने विचार गरेको छु ।
एमालेबाट तिन चोटी निर्वाचन जित्नु भयो । विभिन्न जिम्मेवारीमा रहेर काम पनि गर्नु भयो । जिन्दगीको महत्वपूर्ण समय एमाले मै विताउनु भयो । आज पनि यहाँलाई मन पराउनेहरु छँदैछन् एमालेमा । तपाईँका लागि त एमाले नै उपयुक्त पार्टी होइन र भन्या ?
एमालेमा जान नसक्ने तिनवटा कारण देख्छु । कारण नं १. योग्यता क्षमता र सक्रीयताको कदर हुने कुनै किसिमको मेक्यानिज्म बन्न सकेको छैन । सानाले अलि ठूलाको, अलि ठूलाले त्यो भन्दा ठूलाको, त्यो भन्दा ठूलाले अझै ठूलाको तावेदारी नगरी टिक्न सकिने अवस्था आज पनि छैन । कोही कसैले आफुलाई लागेको जायज कुरा पनि दिल खोलेर बोल्न सक्ने अवस्था छैन । म कसैको तावेदारी गर्न पनि सक्दिन, लागेको कुरा नबोली बस्न पनि सक्दिन त्यसकारण अहिलेको एमाले मलाई सुट गर्दैन । कारण नं २.आजको मितिमा पनि एमालेसंग न समृद्धिको ठोस एजेण्डा छ न सुशासनको विषयमा पार्टी र नेतृत्व स्पष्ट छ, न तिव्र विकासको खाका छ । चल्ते चलाते, चुनाब लड्ने, सरकार बनाउने, समय बिताउने, फेरि चुनाब लड्ने, फेरि सरकार बनाउने, ढाल्ने, अनावश्यक विषयमा अनावश्यक टिका टिप्पणी गर्ने, उट्पट्याङ्ग, उट्पट्याङ्ग कुरा गर्ने यो भन्दा बढी केही देखिएन । कारण नं ३. एमालेमै रहनु भएका साथीहरुलाई नै पार्टीले उचित जिम्मेवारी दिन सकेको छैन । त्यही नै साथीहरुको ठूलो गुनासो छ । अझ पार्टी छोडेर जानेहरुलाई सहज ढंगले पार्टी प्रवेश नै दिनु हुँदैन भन्ने मान्यता राख्छु म त । जस्तो सुकै थिचोमिचो, अन्याय भएपनि सहेर तेही पार्टी भनेर बस्नेलाई अन्याय हुँदैन र ? यसले त विकृति निम्त्याउँछ नी ।

अझ हिजो भन्दा ठूलो पदको बार्गेनिङ्ग गर्ने चलन पो चल्यो यहाँ त ?
हो त । माग्नेलाई पनि माग्न लाज नहुने, दिन्छु भन्नेलाई पनि लाज नहुने ! फेरि पद दिएर दिइन्छ र ? त्यत्रो अधिकार कोसंग हुने रहेछ ? केही दिँदा पनि विधान भित्रैबाट दिनु पर्ने होला । केही दिई हालेछन् भने पनि निश्चित समयमा त पार्टी भित्रै पनि निर्वाचनमा जानु पर्ला, जितेर आउनु पर्ने होला । एकचोटी त नेताले देलान्, अधिवेशनमा त आम सदस्यहरुले नै दिनु पर्ने होला । त्यसै दिएर दिइन्छ ?
 पार्टी प्रवेश गर्दा जे माग्यो त्यहि दिन्छु भन्ने, चलन छ नी ?
छ । तर पार्टीमा काम गरेको अनुभव भएकाहरुले चाँहि यत्ति कुरा बुझ्नु पर्ने हो । एक दुई जना विशेष व्यक्ति वा विशेष अवस्थाको कुरा बेग्लै होला तर आएका जति सबैलाई पद दिन सम्भव छ र ? पार्टी प्रवेश गर्दा जे माग्यो त्यहि दिन्छु भन्ने, प्रवेश गराईहाल्ने अनि केही नदिइकन पेन्डुलम बनाई दिने ? यो त पार्टीहरुमा देखिएको अत्यन्त खराब प्रवृत्ति हो ।
निर्वाचन लड्ने पार्टीले निर्वाचन जित्नै पनि त आउन चाहनेलाई प्रवेश गराउनै प¥यो नी । आउन चाहनेलाई आउन पनि दिने पार्टीका अन्य सदस्यहरुलाई अन्याय पनि नहुने त्यस्तो व्यवस्था त के हुन सक्छ र ?
पार्टी छोड्नेहरुलाई पुन प्रवेश गराउने हो भने ग्राउण्डबाट लेराउने व्यवस्था गर्नु पर्छ या त्यस्ता व्यक्तिहरुलाई राख्ने छुट्टै संरचनागत व्यवस्था हुन पर्छ । त्यस्ता व्यक्तिहरु जुनसुकै तहको भए पनि परिक्षणमा बस्ने र परिक्षणबाट पास भए मात्र पार्टीको जिम्मेवारी पाउने व्यवस्था गर्नु पर्छ । अरु पनि विधी छन् । मैले महाधिवेशनमा प्रस्तुत गरेको विधानमा सबै कुरालाई सम्बोधन गरेको छु ।
विभिन्न कारणले मानिसहरु कुनै न कुनै राजनीतिक पार्टीको सदस्यता लिईरहेकाछन् । दल वा दलका नेताहरुसंग सम्बन्ध राख्न कोशिष गरिरहेकाछन् । करिब चार दशक राजनीतिमा सक्रिय रहेको मानिस राजनीतिबाट टाडा हुने कुरा, अहिलेको समय अनुसार त उल्टो भयो नी । होइन र  ?
सुल्टो नै हो । सुल्टो नै हो भनेर देखाउन मलाई केही समय चाहिन्छ । अहिलेको अवस्थामा दलको सदस्यता नलिने मात्र निर्णय गरेको हुँ । राजनीति गर्दिन भनेको होइन । मैले तयार पारेका नागरिकका एजेण्डालाई अझ परिष्कृत र समृद्ध गर्ने कुरा, छुटेका र थप गर्नु पर्ने विषयवस्तुलाई समेट्ने कुरा, नागरिकका एजेण्डालाई नागरिकका विचमा पु–याउने कुरा पनि त राजनीति नै हो नी । तरिका मात्र फरक हो नी ? रह्यो नेताहरुसंग नजिक हुने र फाइदा लिने कुरा – त्यो त नेताहरुकै कारणले हो । देशको भविष्यको चिन्ता भन्दा पनि आफ्नो, परिवारको र पार्टीको चिन्ता मुख्य हुन थाले पछि फाइदा लिनेले त कोशिस गरिहाल्छनी । देश सिस्टमले चलाउनु पर्ने, सबै क्षेत्र राजनीतिले चलाउन थाले पछि यस्तै त हुन्छ नी । आज त आफ्नो बचाउको लागि पनि पार्टीको सदस्यता लिनु पर्ने अवस्था आयो । पार्टीको सदस्यता नलिई कसैले कुरै नसुन्ने भो । बोली दिने कोही नै नहुने जस्तो भो । सबै नेपालीले दलको सदस्यता लिने, अझ भनौ परिवारका सदस्यहरु बाँडिएर भएका जति सबै दलको सदस्यता लिनु पर्ने अवस्था पो आउने हो कि भन्ने पो देखिन्छ त ! राजनीति गर्नेले राजनीति गर्ने अन्य पेशा व्यवसाय गर्नेले आफ्नो काममा मात्र ध्यान दिन प्रोत्साहित गर्नु पर्नेमा पेशा व्यवसायमा सफल भएकाहरुले पनि पार्टीको सदस्यता लिनै पर्ने र नेताहरुको वरपर घुम्नै पर्ने अवस्था बनाउन सबै दलहरु को भन्दा को कम भने झैँ लागेको देख्छु । यस्ता कार्यले पार्टीको त भलो गर्दैन नै अन्तत देशको पनि भलो गर्दैन । Professional  हरु पनि दलको वरपर झुम्मीने कुरा भविष्यमा निकै घातक हुने देख्छु म त ।
 समाज भन्नुहोस वा मतदाता भन्नुहोस, उनीहरुको राजनीतिक व्यक्तिसंग धेरै गुनासो छ त्यो मध्येमा एउटा चाँहि केहो भने आफुलाई चाहिएको बेलामा नागरिक सम्झने,भोट हाल्दीनु पर्ने, निर्वाचन जिताई दिनु पर्ने, पार्टीले कुनै कार्यक्रम ग–यो भने सहयोग गर्दिनु पर्ने, जब निर्णय गर्ने अवस्थामा पुग्छन्, नागरिकको सहयोगमा यहाँसम्म आईपुगेको भन्ने पनि बिर्सने, क–कसको योगदानले यहाँसम्म आईपुगेको, को को भ–याङ्ग बनेर, क–कसको ढाडमा टेकेर यहाँसम्म आई पुगेको भनेर सोच्न पनि नभ्याउने । तपाईँ कै सवालमा पनि यो कुरा लागु भाको देखियो । विभिन्न समयमा तपाइँले विभिन्न महत्वपूर्ण जिम्मेवारीको अवसर पनि प्राप्त गर्नु भयो । तिन चोटी त निर्वाचित नै हुनु भयो । तपाईँलाई निर्वाचित गराउने मतदाताहरु, शुभचिन्तकहरु, तपाईलाई यो स्थानसम्म पु–याउन सहयोग गर्ने नेता, कार्यकर्ता पनि सम्पर्कमा नै हुनुहुन्छ होला । बनाउने बेलामा चाँहि अरु पनि चाहिने यत्रो ठूलो ठूलो निर्णय गर्दा चाँहि कोही पनि नचाहिने ?

दलका निर्णयहरुमा नागरिक “पात्र” बन्न सकेन भन्ने यहाँको कुरामा मेरो सतप्रतिशत समर्थन छ । मेरो पनि मान्यता त्यहि हो । दलका महत्वपूर्ण बैठक, छलफल, र कार्यक्रमहरुमा नागरिक र नागरिकका एजेण्डाले स्थान पाएन भन्ने नै हो । आज दलहरुको प्राथमिकतामा सरकार मात्र रह्यो । जसरी हुन्छ सरकारमा जाने, एउटा मन्त्रालय मात्र पाए पनि जाने । किन जाने भन्ने छैन, गए पछि के गर्ने भन्ने छैन । को जाने ? विषयबस्तुको जानकारी कत्तिको चाहिने भन्ने छैन तर सरकारमा चाँही जानु प–यो । अत्यन्त खराब प्रवृत्ति पार्टीहरुमा विकास भो । अरु पार्टीको हकमा मैले बोल्न नसके पनि एकीकृत समाजवादीमा रहेर मैले चाहेकै विषय यहि हो कि महाधिवेशनमा नागरिकका समस्या, नागरिकका सरोकारका विषय र नागरिकको जिवन सहज बनाउने विषयहरुमा गम्भीर भएर छलफल गरौँ । पार्टीका अरुले यस्ता विषयमा ध्यान दिँदैनन् भनेरै मिहेनत गरेर दस्तावेज तयार गरेर छलफलको लागि दिएको थिएँ । तर विडम्बना ! छलफल त के ! छलफल गर्ने चाहना समेत कसैमा देखिएन । नागरिककै एजेण्डामा छलफल गर्न कसैलाई रुची छैन भने यस्ता पार्टीमा बसेर समय बर्बाद गर्नु भन्दा बाहिर निस्कनु नै उत्तम भनेर निस्केको हुँ त्यसैले अरुको वास्ता गरेन हैन वास्ता गर्न र सयम दिन चाँहि फ्रि भएको हुँ ।
पार्टी विभाजन पछिको केन्द्रीय कमिटीको सदस्य, यो अर्थमा पार्टीको संस्थापक केन्द्रीय सदस्य तर अहिले पार्टीको केन्द्रीय कमिटीको सदस्यमा बस्न मान्नु भएन भन्ने सुनियो । त्यस्तै हो ?
हामीले एमालेबाट कारणहरु देखाएर विद्रोह गरेका थियौँ । मलाई वा म भन्दा माथि तल जहाँ जहाँ बसे पनि, सबैलाई पहिचान त समाजले नै दिएको हो नी । हामीले गर्ने कुनै पनि गतिविधीको अन्तिम मुल्याँकन पनि समाजले नै गर्ने हो नी । विद्रोह भन्ने अगुवाहरुले विद्रोहमा साथ दिनेहरुलाई हिजोको पार्टीमा यो यो कारणले विद्रोह गर्नु परेको र यी यी कारणहरु सच्यायौँ भनेर समाजमा जाने आधारहरु त तयार गरि दिनु पथ्र्यो नी, तर कहिँ कतै विद्रोहको पुष्टी गर्नु पर्छ भनेर चिन्तन गरेको, चिन्ता गरेको महशुष भएन । शैली, काम गर्ने तौर तरिका त परिवर्तन गर्न सकिन्थ्यो नी, त्यस्तो संकेत समेत प्राप्त हुन सकेन । विद्रोह पनि होइन, आवश्यकता पनि थिएन केवल पदको लागि पार्टी फुटाएका भन्नेहरुलाई पनि बिद्रोह नै थियो, आवश्यक पनि थियो भनेर Justify गर्नु पर्ने चुनौति हामीसंग थियो त्यो पनि हुन सकेन । विद्रोह गर्ने आधार र कारणहरु थिए र ती आजसम्म पनि छन् भन्ने मान्यता राख्छु म । केही अगाडि देखि नै पार्टीमा रहन्न भन्ने लागिसकेको थियो, जनाऊ पनि विभिन्न माध्यमबाट दिएकै थिएँ । तर महाधिवेशन विचार, विधान पारित गर्ने, कमिकमजोर सच्याउने अन्तिम थलो पनि भएको कारण महाधिवेशनसम्म पर्खनु पर्ने मेरो बाध्यता थियो । महाधिवेशनमा पनि त्यस्तो कुनै संकेत देखिएन । अझ सहमतिका नाममा पार्टीका सदस्यहरुलाई नेतृत्व छान्ने अधिकार समेतबाट बञ्चित गरियो । त्यसकारण महाधिवेशन सकियो भनेकै दिन पार्टी छोड्ने निर्णय गरेँ ।
 प्रस्ताव आएको थियो ?
केन्द्रीय कमिटीको घोषणा हुनु भन्दा अगाडि हालका अध्यक्षले भेट्न खोज्नु भएको थियो । व्यस्तताका कारण भेट्न जान सकिन । महासचिवसंग फोनमा लामै कुराकानी भयो । काठमाडौँ र बागमती प्रदेशको जिम्मेवारीमा रहेका अन्य व्यक्तिहरुले पनि फोन गर्नु भएको थियो । महासचिव लगायतलाई असार २१ बाट नै पार्टी छोडेको जानकारी गराएको थिएँ । तसर्थ कुनै कमिटीमा बस्न मलाई प्रस्ताब आउने कुरै भएन ।
एकीकृत समाजवादी कै कतिपय सदस्यहरु दलको सदस्यता नविकरण नगरी चुपचाप बसेको पनि देखिन्छ । तर यहाँले त दलको सदस्यता पनि त्याग गर्नु भो, हल्लाखल्ला पनि गर्नु भो, एकलै अभियान चलाउने कुरा पनि गर्नुभाको छ सारै चित्त बुझेन कि के हो पार्टीसंग ?
पार्टी छोडेको विषय हल्ला गर्नु पर्छ भन्ने चाँहि लागेको थिएन । कतिपय विषयमा आफ्ना कुरा स्पष्ट रुपमा नराख्दा अरुले अनेक अड्कलबाजी लगाउने, कतिपयलाई भ्रम सिर्जना गर्न मौका मिल्ने रहेछ त्यसैले पनि केही कुरा त राख्नै पर्ने हुँदो रहेछ ।
 एतिबेला आएर एमाले छोडेर गलत गरेछु भन्ने लागेको छैन ?
छैन, छैन । जुन जुन कारणले एमाले छोडेको थिँए आज पनि कारणहरु ज्युँ का त्युँ छन् । त्यसैले एमाले छोडेर गलत गरेछु भन्ने पनि लागेको छैन एकीकृत समाजवादी छोडेर गलत गरेको छु भन्ने पनि लागेको छैन । यत्ति होकि एकीकृत समाजवादीले विद्रोहको औचित्यता प्रमाणित गर्न सकेन । अब एकीकृत समाजवादी पार्टीमा रहनेहरुले केपी ओलीलाई औँला ठड्याउने ठाउँ चाँहि बाँकि रहेन ।
एकीकृत समाजवादी छोड्नु पर्ने मुख्य कारण भनेको आफुले तयार गरेर पेश गरेको दस्तावेजमा छलफल गर्न नेताहरुले ईच्छा देखाएनन् भन्ने नै होइन त ?
मैले तयार पारेका एजेण्डामा राम्रैसंग छलफल गर्न र पारित गर्न सकेको भए आजको अवस्थामा एकीकृत समाजवादीलाई हेर्ने समाजको दृष्टिकोण नै परिवर्तन हुन्थ्यो भन्ने हो । तर पेश भएका विचार त पास, फेल हुन सक्छ । मैले पेश गरेका विषय पास नै हुनु पर्छ भन्ने मान्यता राख्ने कुरा पनि गर्दिन म । तर नयाँ विचार आए पछि छलफल चलाउने त आँट गर्नु पर्छ नी । नयाँ विचारमा छलफल गर्ने वातावरण नै नबनाउने हो भने, पार्टीले आफुलाई अपग्रेट र अपडेट नगर्ने हो भने त रिटायर्डहरुको पार्टी बन्ने नै हो । कुनै दिन कसैले त मैले उठाएका विषयमा त्यो पार्टीमा कुरा उठाउला भन्ने लाग्छ । तर मैले पार्टी छोड्नु पर्ने प्रमुख कारणहरु मध्ये– एकीकृत समाजवादीले एमाले विभाजन गर्नु पर्नाका कारण पुष्ट्याई गर्न नसक्नु, एकीकृत समाजवादीको महत्वपूर्ण जिम्मेवारीमा रहेकाहरुको व्यवहार, शैली, काम गर्ने तौर तरिका, प्रस्तुति, आनीबानी एमाले भन्दा फरक नदेखिनु मुख्य हो । पार्टीका सदस्यहरुमा रुपान्तरण, पुस्तान्तरण जस्ता विषयमा कुनै सोच, धारणा नदेखिनु, आफु भन्दा माथि बसेकाहरुसंग जायज कुरा पनि बोल्ने आँट नदेखाउनु, आफु भन्दा तलकालाई पेल्ने आम प्रवृत्ति देखिनु पनि हो ।
भने पछि त पद नपाएरै वा आफुले भने जस्तो गर्न नपाएका कारण नै माधव नेपालले पार्टी फुटाएको देखियो त ?
नेतृत्व मात्रै अर्को पुस्तालाई दिएको भए यो आरोपबाट उहाँ मुक्त हुनुहुन्थ्यो । आफु अभिभावक बनेर अरु कसैलाई पार्टीको जिम्मेवारी सुम्पेको भए उहाँको कद बढ्थ्यो भन्ने मेरो बुझाई हो । अब त रहेसहेको ईज्जत पनि सकिने पो देख्छु म त । “नेता” भन्ने शब्द नै आफैँमा अदृष्य तर शक्तिशाली पद हो । कुर्सि र पदले नेता बनाउँदैन भन्ने बुझ्न नसके पछि के लाग्यो ? आफ्ना वरपर बस्नेहरु कस्ता छन् ? आफुलाई उपयोग गरेर दुनो सोझ्याउने काम त गरिरहेका छैनन् भनेर बुझ्न सकिएन भने, जनआधार र क्षमता नभएका चाटुकारहरुलाई आफ्नो वरपर राखियो भने हुने यहि हो । अव एकीकृत समाजवादीमा रहने सबैले यो आरोपको सामना गर्नु पर्छ । यस्ता प्रश्नको जवाफ दिनु पर्छ ।
भनेपछि एकीकृत समाजवादीको भविष्य अब कमजोर छ ?
आजको मितिमा नै चेत खुलेछ भने त कुन्नी नत्र काठमाडौँमा एकीकृत समाजवादीको अवस्था अत्यन्त कमजोर बन्ने देखेको छु । एकखाले साथीहरु एमालेमा जालान्, एकखाले साथीहरु चुपचाप बस्लान्, एक खाले साथीहरु विकल्प कतै नदेखेर पार्टीको कार्यक्रममा अनुहार देखाउन बेला बेलामा त आउलान् तर पार्टीले केही गर्छ भन्ने उर्जा चाँहि हुनेछैन । कतै नविकेका, विक्न सक्ने हैसियत नभएका, जनाधार नभएका, विभिन्न व्यक्तिहरुको नजिक भएका कारण सामथ्र्य भन्दा धेरै ठूलो पद प्राप्त गरेका व्यक्तिहरुको सख्या मात्र रहने देख्छु म त । पार्टीबाट केही लिन नखोज्ने तर पार्टीलाई दिन मात्र खोज्ने –असाध्यै राम्रा व्यक्तिहरु पनि हुनुहन्छ त्यो सङ्ख्या करिव पाँच प्रतिशत जति होला अब अहाँहरुको भुमिका कस्तो रहन्छ भन्ने कुराले पार्टीको भविष्य कता जान्छ भन्ने कुराको निर्धारण गर्नेछ । तर एकीकृत समाजवादीको मात्र हैन आजको मितिमा त सबै दलहरु प्रति नागरिकहरुको आस्था, विश्वास कमजोर छ, । पार्टीका नेताहरु प्रति दैनिक रुपमा विश्वास घट्दोछ । राम्रो र विश्वासिलो विकल्प नदेखिएका कारण मात्रै, जुन दिन विश्वास गर्न लायक विकल्प देखिन्छ – को रहन्छ ? को रहँदैन भन्न सकिने अवस्था छैन ।
जुन जुन कारणले फुटाए पनि वा जुन सुकै तहका नेताले पार्टी फुटाए पनि फुटले मान्यता पाउन नसकेको नेपालको परिस्थितिमा आन्तरिक कारणहरु जे जे भएपनि एमालेको फुट र विभाजन पनि नागरिकले स्वीकार गर्दैनन् भन्ने कुरा बुझेर १० भाई लगायतका विभिन्न तहका नेता कार्यकर्ताहरु पार्टी मै बसेर सघर्ष गर्ने निर्णयमा पुग्दा तपाईहरु चाँहि पार्टी विभाजन तिर लाग्नु भयो । कति असर ग–यो भनेर ठ्याक्कै भन्न नसकिए पनि पार्टी विभाजन नभएको भए एमालेले गएको निर्वाचनमा प्राप्त गरेको भन्दा राम्रो मत प्राप्त गथ्र्यो भनेर अनुमान चाँहि गर्न सकिन्छ । देशको राजनीतिक अवस्था पनि आजको भन्दा फरक हुन्थ्यो भन्न सकिन्छ । यसरी हेर्दा यो आजको अवस्थाको जिम्मेवार तपाईहरु पनि हो भनेर भन्न त सकियो नी, हैन र ?
जे जे कारणले गर्दा हामीले पार्टी छोड्नु प–यो, नयाँ पार्टी गठन गर्नु प–यो सो को Justify गर्न सकेको भए यहाँले यो प्रश्न सोध्ने र मैले जवाफ दिनु पर्ने अवस्था नै आउँदैनथ्यो । पार्टी विभाजनका लागि हामीले देखेका, देखाइएका र नागरिक तहमा व्यक्त गरेका कारणहरुको पुष्ट्याइँ गर्न नसकेको कारण नै आज यी र यस्ता प्रश्नको सामना गर्नु परेको र निरुत्तर हुनु परेको अवस्था छ ।
भने पछि कहिँ न कहिँ आजको अवस्थाको जिम्मेवारी एकीकृत समाजवादीले लिनु पर्छ भन्ने ठान्नु हुन्छ ?
एमालेको नेतृत्व र एकीकृत समाजवादीको नेतृत्वले आजको अवस्थाको जिम्मेवारी आ–आफ्नो ठाऊँबाट लिनु पर्छ जस्तो लाग्छ मलाई । आफु भन्दा फरक विचार राख्ने कसैलाई पनि देखि नसहने र कम्पनीको रुपमा पार्टी चलाउन खोज्ने प्रवृत्ति, पार्टीमा असहमति राख्ने कोही पनि व्यक्तिलाई पार्टीमा टिक्नै नदिने, संगै बस्नै नसक्ने अवस्थाको सिर्जना गर्ने केपी ओली र एउटै पार्टीमा हुँदा यो भएन, त्यो भएन भनेर फरक मत राख्ने तर पार्टी विभाजन पछि आफुले कुन कुराको विरोध गरेको थिएँ, आफ्ना मागहरु के के थिए, कुन कुराको लागि पार्टीका साथीहरुले आफुलाई साथ दिएका थिए भनेर एक छिन पनि गम्भिर नहुने र पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसक्ने, साना मसिना, प्राविधिक कुरामा अल्झी रहने माधव नेपाल लगायत एकीकृत समाजवादीको सचिवालयले आजको अवस्थाको जिम्मेवारी लिनु पर्छ ।
 साना मसिना, प्राविधिक कुरामा अल्झी रहने भन्नाले ?
नागरिकको आवाज सुन्ने, राष्ट्रको समस्याको पहिचान गर्ने, राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको गहिरो जानकारी राख्ने, समय सापेक्ष पार्टीका निति, विचार निर्माण गर्ने, आगामी दिनको लक्ष तय गर्ने, असल र काविल व्यक्तिहरुको पहिचान गर्ने, तय भएका लक्ष प्राप्त गर्न योग्य, सक्षम र इमान्दार व्यक्तिहरुको टिम तयार गर्ने, जिम्मेवारी प्रदान गर्ने काम राजनीतिक नेतृत्वको हो । तर नेपालका बहुसङ्ख्यक नेताहरुको खुद्रा कुरामा अल्झीने बानी छ । बहुसङ्ख्यक नेताहरु पार्टीका कार्यकर्ताहरु भेट्न आउन्, चाकरी गर्न आउन् भन्ठान्छन् । अनावश्यक भेटघाटमा घन्टौ विताउने, विभिन्न खाले सभा समारोह, कार्यक्रमको उद्घाटन प्रिय लाग्ने गर्छ नेपालका बहुसङ्ख्यक नेताहरुलाई । प्राय नेताहरुका प्राथमिकता (Priorities) छैन, ६ महिना भित्र के के गर्ने गर्ने ? वर्ष दिन भित्र के के गर्ने भन्ने तालिका (Shedule छैन । प्रणाली (System) विकास गर्नु भन्दा व्यक्तिगत समस्या सुन्न मन पराउँछन् नेपालका नेताहरु । स–साना कुरा सुन्न त तहगत कमिटीहरु छँदैछनी ।
हिजो एमालेको नेतृत्व, विशेष गरी केपी ओलीको कारण पार्टी छोडेको भन्नु भयो । जे जे भनेर वा जुन जुन आरोप लगाएर पार्टी छोड्नु भएको थियो कुनै कुरा गलत थियो भनेर प्रमाणित गर्न सक्नु भएन वा यहाँले नै स्वीकार गरी सक्नु भयो कि केपी ओली भन्दा माधव नेपाल कुनै कोणबाट पनि फरक देखिन सक्नु भएन । अझ सहमतिको नाममा महाधिवेशनमा उम्मेदवार बन्न चाहनेहरुलाई नाम दर्ता गर्न समेत दिइएन । त्यो कोणबाट हेर्दा त केपी ओली भन्दा पनि माधव नेपाल खराब देखिनु भयो । हिजो केपी ओली खराब भन्दै एमाले छोड्नु भयो, आज माधव नेपाल खराब भन्दै एकीकृत समाजवादी छोड्नु भयो । एमाले छोडेर के के न गर्छु भन्ने लागेको थियो होला, केही गर्न सकिएन भनेर आफैँ भनीरहनु भएको छ । अब समाजवादी छोडेर पनि माधव नेपालहरुलाई त केही फरक पर्नेवाला छैन । एकीकृत समाजवादी बनेर पनि केही गर्न नसकेको ताजा उदाहरण हुँदा हुँदै यसरी पार्टी छोड्दै छोड्दै जाँदा राजनीतिक रुपमा घाटा त यहाँलाई मात्र लाग्ने देखियो नी ?
राजनीति के हो र के को लागि गर्ने ? पद प्राप्ती नै लक्ष हो भने त यहाँको प्रश्न सही हो । राजनीतिक दलमा आवद्ध नहुँदा व्यक्ति निरीह हुन्छ भन्ने पनि होइन । राजनीतिक दलका सदस्य नलिएका धेरै नै व्यक्तिहरुलाई आज पनि समाजले राजनीतिक दलका उच्च ओहोदाका व्यक्तिहरु भन्दा सम्मान गर्दछ । उनीहरुका कुरा ध्यान दिएर सुन्दछ । हामीले बुझ्नु पर्ने कुरा के मात्र हो भने लोभ र स्वार्थ रहित राजनीति गर्नेहरुले आत्मसम्मानको अपेक्षा राख्छन् । आत्मसम्मान बिनाको कुनै पनि ओहोदा, पद, जिम्मेवारीको कुनै अर्थ राख्दैन । राजनीतिक पदले कसैको पनि कद सदाको लागि उचो भएको देखेको छैन । छोटो समयको लागि पदले मान्छेको कद बढाएको जस्तो देखिँदो रहेछ । साँसद मन्त्री वा उच्च ओहोदामा पुगेकाहरु बाटो बाटोमा हिड्दा कसैले सम्मान गरेको जस्तो लागेको छैन । सम्मानको त कुरै छोडौँ चिनेर पनि आम नागरिकहरु नचिनेको जस्तो गर्छन् । किन त ? किनभने पद प्राप्त गर्दा पनि सम्मान गर्न लायक काम गरेका छैनन् भन्ने बुझाई आम नागरिकको हो । यस्तो पद वा कदको के अर्थ ? करिब १० महिना लगाएर मिहेनत गरेर जुन एजेण्डाहरु तयार गरेको छु ती एजेण्डाहरु सम्पूर्ण रुपमा नागरिकका चासो, चिन्ता, सरोकार र जिवनसंग प्रत्यक्ष रुपमा जोडिएको विषय भएको कारण समाजसंग जोडिएर काम गर्दा घाटा नाफा भन्दा पनि आत्मसम्मान र आत्मसन्तुष्टी प्राप्त हुनेछ जस्तो लागेको छ । विगतमा एमालेको विभिन्न जिम्मेवारीमा रहेर काम गरेको, २०७४ मा भएको प्रदेश सभाको सदस्यमा माओवादीसंगको गठबन्धनबाट निर्वाचित भएको, २०७९ को निर्वाचनमा काँग्रेस, माओवादी समेतको गठबन्धनबाट प्रदेश सभाको सदस्यको उम्मेदवार भएको जस्ता कारण प्रमुख दलहरुसंग नजिक नै छु र एकीकृत समाजवादीका कतिपय साथीहरुको त यी एजेण्डाहरु तयार गर्नको लागि महत्वपूर्ण सहयोग नै रहेको छ त्यसैले पनि नागरिकका एजेण्डामा काम गर्न सहज नै होला भन्ने ठान्दछु ।
महाधिवेशनमा यहाँले प्रस्तुत गर्नु भएको दस्तावेजको खासै चर्चा सुनिएन, विषयवस्तु के थियो ?
एकीकृत समाजवादीको लागि यो महाधिवेशनको विशेष महत्व थियो । विद्रोहको औचित्यता पुष्टि गर्न नसकिएकोमा पार्टीमा असन्तुष्टि बढ्दै गएको थियो । विद्रोहको औचित्यता पुष्टि गर्न नयाँ विचार र नयाँ विचार बोक्न सक्ने संरचना र पद्धतिको विकास गर्नु पर्ने आवश्यकता थियो । यही कुरा महशुष गरेर करिब १० महिना अत्यन्त मिहेनत गरेर नागरिकका चासो र सरकारको विषय समेट्दै “नागरिकका एजेण्डा र आगामी कार्यभार” तथा आजको समय, परिस्थिति, चेतना र प्रविधी समेतलाई मध्यनजर गरेर विद्रोहको औचित्यता पुष्टि गर्ने गरी विधान, नियमावली लगायत दस्तावेज तयार गरेंर केन्द्रीय कमिटीको बैठकमा पेश गरें, पार्टीका पदाधिकारीहरुलाई महाधिवेशन भन्दा २, ३ महिना अगाडि नै पढ्न दिएं । किताव बनाएर पार्टीका साथीहरुलाई दिएं । काठमाडौँ जिल्ला कमिटीको बैठकमा पेश गरियो । बैठकले स्वामित्व लिएर छलफललाई व्यापक बनाउन चाह्यो – तर केही जिम्मेवार पदमा बसेका साथीहरुले आपत्ति नै जनाउन थाल्नु भो, छलफलमा आउन चाहनेहरुलाई रोक्न थाल्नु भो, धम्क्याउन थाल्नु भो । कुनै स्वार्थ नराखी, पार्टी राम्रो बनोस भनेर छलफल गर्न चाहेकामा साथीहरुका यस्ता व्यबहार अस्वभाविक लाग्यो । सोचे जसरी छलफल चलाउन मन लागेन । परिवर्तनको कुरा गरे पनि परिवर्तनको चाहना तल देखि माथिसम्म देखिएन । कतिपय साथीहरुमा त परिवर्तन र नयाँ कुरा गर्ने वित्तिकै खलखल पसिना आउने स्थिति देखियो । महाधिवेशनमा छलफल गर्ने गरी मैले प्रस्तुत गरेका दस्तावेजहरुका डिजिटल कपी ढिला भए पनि छलफलका लागि केन्द्रीय कमिटी मार्फत नै मातहत कमिटीहरुमा त गयो तर ढिला गएको र डिजिटल कपी मात्र गएकोले अन्तमा म आफैँले छलफलमा जोड गरिन । सामान्यतया डिजिटल कपी पढ्र्न अप्ठ्यारो हुने त्यसमाथि विभिन्न विषयबस्तु समेटीएका छ वटा दस्तावेज पढ्ने कुरा सम्भव नै थिएन । अन्तिम अवस्थामा मात्र छलफलको लागि दस्तावेजहरु तल पठाइएका कारण झन् उठाउन चाहेका विषयबस्तुको मर्म मर्न सक्ने डरले महाधिवेशनमा म आफैँले पनि विषयबस्तुको उठान गरिन । महाधिवेशनको छलफलमा सहभागी नै भइन ।
महाधिवेशनमा धेरै नै विषयबस्तु समेटेर दस्तावेज प्रस्तुत गर्नु भएछ, साराँशमा भनी दिनस न ।
सबै विषयमा छलफल गर्न सम्भव छैन । महाधिवेशनमा प्रस्तुत भएका दस्तावेजका हेडिङ्ग मात्र अहिले उल्लेख गरौँ, समय मिलेमा आगामी दिनमा विस्तृत रुपमा कुरा गरौँला । १) विधान २) साविक विधान र प्रस्तुत विधानमा रहेको व्यवस्था र भिन्नता ३) नियमावली ४) पार्टी सदस्य संरक्षण कोष सञ्चालन नियमावली ५) स्वास्थ्य उपचार सहयोग कोष सञ्चालन निर्देशिका ६) नागरिकका एजेण्डा र आगामी कार्यभार ।
 नागरिकका एजेण्डा र आगामी कार्यभार”मा के छ ?
नागरिकले दल तथा दलका नेताहरुबाट गरेका अपेक्षा, देशमा विद्यमान प्रमुख समस्याको पहिचान र समाधानका उपायहरु र आम मानिसको जिवन सहज बनाउन संविधान शंसोधनसंग सम्बन्धित विषयहरु, परिवर्तन गर्नु पर्ने संरचना तथा गर्नु पर्ने कामका विषयहरु समेटीएकाछन् । मैले प्रस्तुत गरेको दस्तावेजबाट कम्तिमा हेडिङ्ग मात्र उल्लेख गरि दिनु भयो भने म आभारि हुने थिँए।
(नागरिकका एजेण्डा र आगामी कार्यभारमा समेटीएका विषयहरु यहाँ उल्लेख गरिएको छ)
क. समृद्धिका क्षेत्र तथा समृद्धिका लागि गर्नु पर्ने कार्यहरु
१) उद्योग २) कृषि ३) खनिज ४) जलस्रोत (ऊर्जा) ५) पर्यटन ६) वन ७) वैदेशिक रोजगार ८) विशेष आर्थिक व्यवस्था
९) स्थानीय मदिराको ब्राण्डीङ्ग १०) ब्यबसायको अनुगमन, निरीक्षण र परिक्षणको लागि विशेष व्यवस्था ११) कम्पनी तथा सहकारीका राम्रा पक्ष समेटेर विशेष ब्यबसायिक संस्थाको व्यवस्था १२) प्रविधि र अनुसन्धान १३) वित्तिय कारोबार गर्ने र ब्यबसायिक कारोबार गर्ने सहकारी संस्थाको छुट्टा छुट्टै सहकारी कानून निर्माण र कारणहरु ।
ख. सुशासन
१) शिक्षा २) स्वास्थ्य ३) भ्रष्टाचार न्युनिकरण ४)कर्मचारीको पूनर्संरचना ५) नागरिकका सरोकारका कार्यालय र कार्य सम्पादन ६) विपन्न नागरिकलाई सहयोग सम्बन्धी व्यवस्था ७) ज्येष्ठ नागरिकका लागि सेवा सम्बन्धमा ८) नयाँ आर्थिक वर्ष सम्बन्धि व्यवस्था ।
ग. निर्वाचन प्रणाली, शासकिय स्वरुप, परिमार्जन गर्नु पर्ने विभिन्न निकायका संरचना
१) निर्वाचन प्रणाली २) संघीयता ३) साधनस्रोत र अधिकारले सम्पन्न स्थानीय सरकार ४) राष्ट्रिय योजना आयोगको खारेजी र राष्ट्रिय अध्ययन, अनुसन्धान केन्द्रको व्यवस्था ५) न्यायपरिषद तथा न्याय सेवा आयोग ६) संबैधानिक परिषद ७) राजकिय नियुक्ति ८) प्रधानमन्त्री अध्यक्ष रहने ब्यबस्था हटाई मन्त्री अध्यक्ष रहने व्यवस्था ९) निति तथा कार्यक्रम एवं बजेट, प्रधानमन्त्रीले प्रस्तुत गर्ने १०) साधन, स्रोत र अधिकार सम्पन्न व्यवस्थापिका विषयगत समिति र कानून निर्माणको प्रकृया ११) सांस्कृतिक तथा धार्मिक पर्वहरुमा उपस्थितिको व्यवस्था १२) राष्ट्र प्रमुख, सरकार प्रमुखको विदाई र स्वागतमा उपस्थितिको व्यवस्था ।
घ. पूर्वाधार–निर्माण तथा सडक सम्बन्धि अन्य ब्यबस्था, विकासका नयाँ मोडल र सहर निर्माण
१) निर्माण कार्यका लागि कानून शंसोधन २) स्थानीय विकास निर्माण सङ्कलन र सञ्चालन कार्यक्रम ३) केन्द्र, प्रदेश, पालिका तथा वडा स्तरिय गौरवका योजना ४) सडक जस्ता पूर्वाधारहरुमा निजि क्षेत्रको लगानी ५) ठूला प्रोजेक्टहरुमा विदेशी लगानी र विदेशी लगानी भित्र्याउनका लागि गर्नु पर्ने कार्यहरु६) नौबिसे – नागढुङ्गा सडक ७) हाइवेमा स्थान परिचय र किलो मिटर खुल्ने हरियो बोर्ड र एप ८) सडक, यातायात र पार्किङ्ग ९) विकासका नयाँ मोडल र सहर निर्माण ।
ङ. विविध
१) हराएका र फेला परेका मोटरसाइकल सम्बन्धमा जानकारी लिने दिने एप २) ठूला नदीको संरक्षण, बहुउपयोगका लागि अधिकार सम्पन्न छुट्टै संरचना ३) नमिलेका खेतियोग्य जमिनको आकार मिलान र कृषि सडक कायम गर्ने ४) सार्वजनिक सम्पत्ति र सम्पदाको संरक्षण एवं उपयोग ५) फोहोर व्यवस्थापन ६) नागरिकता प्रमाण पत्र सम्बन्धी व्यवस्था ७) खेलकुद ८) नागरिकका एजेण्डा, प्राथमिकता र राष्ट्रिय बहश ।
संगठन हुँदा पो सजिलो होला नी त आफ्ना विचारहरुमा छलफल गर्न ?
छलफल एक्लै त हुँदैन, टिम आवश्यक पर्छ, टिम त बनाइन्छ नी । दलका साथीहरुमा –पढ्ने, कुनै विषयबस्तुमा छलफल गर्ने, विचारहरु सुन्ने बानी कमजोर भएछ । फिल्ममा जस्तो एक्शन र बिना प्रोसेसको रिजल्ट चाहिने भएछ । एक घण्टा एउटै कोठामा बसेर कुनै विषयमा छलफल गर्ने धैर्यता पनि देखिएन । फेरी संगठनका केही साथीहरुलाई चित्त बुझेन भने अर्थको अनर्थ लगाइन्छ यहाँ त । कस्तो विचार ल्यायो भन्ने भन्दा पनि कसले विचार ल्यायो भन्ने कुराले प्राथमिकता पाउँछ भन्ने थाहा नै छ । तसर्थ कुनै संगठनमा बाँधिएर यस्ता विषयमा छलफल गर्नु भन्दा स्वतन्त्र भएर गर्नु धेरै अर्थमा राम्रो देखेको छु । छलफलमा आउन चाहने सबैलाई स्वतन्त्रता पनि हुने भयो । आउन नचाहनेलाई कर पनि भएन ।
आगामी दिनको लागि शुभकामना । अन्तमा केही भन्नु छ की ?
शुभकामनाका लागि धन्यवाद । मेरा केही कुरा राख्ने मौका दिनु भएकोमा फेरी पनि धन्यवाद । आगामी दिनमा नागरिकका एजेण्डालाई नागरिकसम्म पु–याउने कार्यमा सहयोगको अपेक्षा गरेको छु ।