भक्तपुर – सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपिभी खोप अभियान माघ २६ गतेदेखि देशभर सुरु गर्दैछ। किशोरी लक्षित यस अभियानमा सहभागी भई खोप लगाउन सरकारले सबै अभिभावक र विद्यालयलाई आग्रह गरेको छ।
यसै सन्दर्भमा सूर्यविनायक नगरपालिकाले नगरभित्र कक्षा ६ मा अध्ययनरत किशोरीहरूलाई लक्षित गरी एचपिभी खोप अभियान सञ्चालन गर्ने भएको छ। नगरपालिकाले यस अभियानअन्तर्गत १ हजार १५ जना किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ।
नगर क्षेत्रमा माघ २६ गतेदेखि फागुन २९ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ। प्रत्येक वडाका स्वास्थ्य चौकीलाई खोप केन्द्र तोकिएको छ भने अभियान सफल बनाउन स्वयसेवक तथा स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त चापागाईंका अनुसार विद्यालयमै खोप लगाउन छुटेका किशोरीहरूका लागि भने फागुन १ गतेदेखि नगरपालिका अन्तर्गतका वडा स्वास्थ्य संस्थामार्फत खोप सेवा उपलब्ध गराइनेछ।
पाठेघरको मुखको क्यान्सर रोकथाममा प्रभावकारी मानिने एचपिभी खोपलाई प्राथमिकतामा राख्दै विद्यालय तहबाटै स्वास्थ्य सचेतना र दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने उद्देश्य नगरपालिकाले लिएको जनाएको छ।



प्रतिक्रिया