काठमाडौँ । हाल सचिवको जिम्मेवारी सम्हालिरहेका पेम्बा दोर्जे शेर्पाले संगठन सुदृढीकरण, विस्तार र पहिचान संरक्षणको स्पष्ट एजेन्डासहित केन्द्रीय महासचिव पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। उनले संघलाई अझ सक्षम, उत्तरदायी र परिणाममुखी बनाउने उद्देश्यसहित नेतृत्वमा अघि बढ्ने बताएका छन्।
उम्मेदवारी घोषणाका क्रममा शेर्पाले संगठन सुदृढीकरण र विस्तार आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पारे। संघीय संरचनाअनुसार केन्द्र, प्रदेश र जिल्लाबीच प्रभावकारी समन्वय बिना संगठन बलियो नहुने उल्लेख गर्दै उनले तीनै तहलाई एउटै लक्ष्य र कार्यदिशामा जोड्ने प्रतिबद्धता व्यक्त गरे। “केन्द्र नीति र दिशा दिने, प्रदेश समन्वय गर्ने र जिल्ला तहले प्रत्यक्ष कार्यान्वयन गर्ने स्पष्ट प्रणाली विकास गर्नु आजको आवश्यकता हो,” उनले भने।
भाषा, संस्कृति र पहिचान संरक्षणलाई उनले महासचिवको मुख्य दायित्वका रूपमा अघि सारेका छन्। शेर्पा समुदायको मौलिक भाषा, संस्कार, संस्कृति र ऐतिहासिक पहिचानलाई संस्थागत रूपमा जोगाउन दीर्घकालीन कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ। यसका लागि शैक्षिक, सांस्कृतिक तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनले बताएका छन्।
त्यसैगरी, उनले केन्द्रीय महासचिवको भूमिका कागजी जिम्मेवारीमा सीमित नरहने स्पष्ट पारे। सदस्यहरूप्रति जवाफदेही, संगठनप्रति सक्रिय र निर्णय कार्यान्वयनमा दृढ रहने महासचिवको भूमिका निर्वाह गर्ने उनको प्रतिबद्धता छ। “महासचिव भनेको केवल बैठक बोलाउने पद होइन, संगठनलाई चलायमान बनाउने इञ्जिन हो,” उनले जोड दिए।
हाल सचिवका रूपमा काम गर्दा प्राप्त अनुभव, संगठनभित्रको बुझाइ र सबै तहसँगको सहकार्यले आफू महासचिव पदका लागि सक्षम रहेको शेर्पाको दाबी छ। उनको उम्मेदवारीले संघमा नयाँ ऊर्जा, पारदर्शिता र प्रभावकारी नेतृत्व स्थापित हुने अपेक्षा गरिएको



प्रतिक्रिया