बालेनको सम्पर्क कार्यालयमा तोडफोड

बालेनको सम्पर्क कार्यालयमा तोडफोड


झापाको कमल गाउँपालिका–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपाको सम्पर्क कार्यालय रहेको घरमा तोडफोड भएको छ । बुधबार राति अज्ञात समूहले स्थानीय जयराम अधिकारीको घरमा तोडफोड गरेको हो ।
झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार उक्त घरको माथिल्लो तलामा रास्वपाले एउटा कोठा भाडामा लिएर सम्पर्क कार्यालय सञ्चालन गर्दै आएको थियो । घरका अन्य कोठामा भने घरबेटी अधिकारीको परिवार बस्ने गर्दथे ।
प्रहरीका अनुसार तोडफोडबाट घरबेटी बस्नेतर्फको कोठाको झ्यालका सिसा फुटेका छन् । यो स्थान झापा क्षेत्र नम्बर ५ मा पर्दछ । यो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाह उम्मेदवार छन् । उनकै भेटघाटका लागि यहाँ कार्यालय खोलिएको थियो ।

सम्पर्क कार्यालयमा तोडफोड कसले र किन गर्‍यो भन्नेबारे अहिलेसम्म यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।