प्रिय फूल
म तिमीलाई असाध्यै धेरै माया गर्छु
तिम्रा पैताला भिजाएर शीरसम्म फेरै माया गर्छु
तर अफसोच,
म विवश छु, लाचार छु
मैले तलतल बग्नैपर्छ
मैले तलतल कलकल बग्नैपर्छ
मलार्इ थाहा छ, मेरो मुटु
भोलि बिहानसम्म
तिमी शीतले नुहाउनेछौ
पवित्र, नवीन र सुन्दर देखिनेछौ
सूर्यका प्रथम किरणहरुले स्पर्श गर्दै
तिमीमा शुद्धता जगाउनेछ
तिम्रो सुवास हावामा लहराउनेछ
तर अफसोच,
लामा हातका तीखा नङहरुले
तिमीलार्इ चुटुक्क टिप्नेछन्
मुसुक्क मुस्काउँदै थालीमा सजाउँदै
भजन र घण्टी बजाउँदै
तिमीलार्इ भगवानसामु पुर्याइनेछ
तिमी उसको दया र आशीर्वाद कुर्नेछौ
पर्खंदा पर्खंदै ओइलाउने छौ
त्यस अचल अटल मूर्ति केही बोल्ने छैन
लुप्त शक्तिले थिचिरहन्छ, केही खोल्ने छैन
म चाहन्थे
तिम्रै वरिपरि घुमीघुमी बगिरहुँ
फैलिंदै फैलिंदै सागर बनिरहुँ
तिम्रा पत्रपत्र मधुर र सुवासिला रहिरहुन्
मभित्र चुर्लुम्म डुबिरहुन्, उत्रिरहुन्
प्रिय फूल
पत्थरिलो पहाडबाट झरना बनी बज्रनैपर्छ
मैले तलतल कलकल बग्नैपर्छ
बदलियोस्, तर बदलिंदैन उस्तै छ
इतिहासको बहाव कठोर उस्तै छ
फूल, खोला र प्रेम उस्तै छ
प्रतिक्रिया