काठमाडौं । पाटन अस्पतालमा उपचाररत दुई बिरामीको मृत्यृ भएको छ । शनिबार दिउँसो अस्पताल भर्ना भएका दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको हो ।
ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीलाई ड्युटीमा भएका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि दिएका थिए । तर, सुईको माध्यमबाट औषधि दिए पाँच मिनेटमै दुबै बिरामीको मृत्यु भएको थियो ।
त्यस्तै मृतकका आफन्तले स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारण मृत्यु भएको आरोप लगाएपछि औषधि परीक्षण गर्न पठाइयो छ । अस्पतालका मेडिसिन विभागका प्रमुख डा. युवराज शर्माका अनुसार उनीहरु दुवै एउटै वार्डमा भर्ना भएका थिए । नगरकोटी १० कात्तिकमा र राई १६ कात्तिकमा उपचारका लागि अस्पताल भर्ना भएका थिए ।
डा. शर्माका अनुसार राईमा निमोनिया भएको थियो । अक्सिजन दिएर उपचार गरिएको थियो । त्यस्तै, नगरकोटीमा भने निमोनियासँगै कलेजोको समस्या देखिएको थियो । तर, नगरकोटीमा उपचारपछि स्वास्थ्य अवस्था राम्रो हुँदै आएको थियो । डिस्चार्ज गर्ने भन्ने चिकित्सकको योजना थियो ।
डा. शर्माका अनुसार राई र नगरकोटीलाई सेफ्ट्रियाक्सोन र रगत पातलो गर्ने औषधि (हेपारिन) र चलाइएको थियो ।
डा. शर्माले बिरामीको मृत्यु हुनुमा इन्जेक्सन नै मुख्य कारण नहुने भन्दै संयोग हुनसक्ने बताए । ‘उहाँहरुलाई त्यही निमोनियाको सेफ्ट्रियाक्सोन एन्टिबायोटिक सात दिन चलाएर ठीक भइरहेको थियो,’ डा। शर्माले भने, ‘यो औषधि सुरक्षित नै हो । यस्ता बिरामीलाई यो औषधि दिने भन्ने मेडिकल साइन्समा नियम नै छ । एउटै वार्डमा रहेको सँगसँगै बित्तिनुभयो । तर, त्यो संयोग हुनसक्छ ।’
राईको उमेर पनि धेरै भइसकेका हुनाले अन्य कुनै पनि कारणले मृत्यु भएको हुनसक्ने चिकित्सक बताउँछन् । कहिलेकाहीँ रगतको ढिक्का उछिट्टएिर, अचानक मुटुको घड्कन अनियन्त्रित भई मृत्यु भएको हुनसक्ने डा. शर्माले बताए ।
अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार कहिलेकाहीँ जेष्ठ नागरिकको अचानक मृत्यु हुनु स्वाभाविक मानिन्छ । ‘नर्सले औषधि दिइसकेपछि तुरुन्तै ५ मिनेट भित्र नै दुवैको मृत्यु भएको थियो । त्यसकारण पनि बिरामीको आफन्तलाई शंका उत्पन्न भएको हो,’ शाक्यले भने, ‘औषधिकै कारणले मृत्यु नभएकोमा हामी विश्वस्त छौं । यद्यपि हामी पनि के कारण भयो भन्ने कुरा जान इच्छुक छौं ।’
आइतबार ललितपुरको प्रहरी प्रशासनको रोहबरमा अस्पताल प्रशासन र बिरामीको आफन्तबीच छलफल भएको थियो । जुन छलफलबाट औषधि परिक्षण र मृत्युको कारण पत्ता लगाउनका लागि पोस्टमार्टम गरिने भएको छ ।
इक्जेन्सन दिएपछि उक्त घटना भएको हुनाले अस्पताल प्रशासनले औषधिलाई परीक्षणको लागि पठाइएको छ । ‘हामीले नियमित हजारौं बिरामीलाई चलाइरहेको औषधि हो । जुन हरेक अस्पतालमा एक नम्बरमा प्रयोग हुने औषधि हो,’ डा. शर्माले भने, ‘औषधिको गुणस्तरीयता हेछौं । अन्य बिरामीलाई उक्त औषधि प्रयोग नगर्ने निर्देशन पनि दिइसकेका छौं ।’
स्रोतको सहयोगमा
प्रतिक्रिया