राहत घोषणाले गोदाम खातका खात, पीडित भने भोकभोकै खुला आकाशमुनि बिताइरहेका छन् रात

राहत घोषणाले गोदाम खातका खात, पीडित भने भोकभोकै खुला आकाशमुनि बिताइरहेका छन् रात


जाजरकोट । बढ्दो जाडोका कारण जाजरकोटमा साँझबिहान आगो ताप्नुपर्ने मौसम छ । यही मौसममा शुक्रबार मध्यराति बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले घरबासविहीन भएका पीडित भने खुला आकाशमुनि छन् ।

भूकम्पपीडितका लागि सहयोग दिने भन्दै घोषणा गर्ने र केही राहत बोकेर आउनेको लस्कर नै भए पनि पीडितहरूले अझै पर्याप्त त्रिपाल, ओढ्ने कम्बल र खाने सामग्री पाउन सकेका छैनन् । उनीहरू एउटै त्रिपाल बिछ्याउने र ओढ्ने बनाएर रात कटाइरहेका छन् ।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालदेखि कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्री, स्थानीय तहका जनप्रतिनिधि, निजी तथा गैरसरकारी संस्थाका प्रतिनिधिको जाजरकोटमा लस्कर थियो । आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिक योजनामन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना पनि खलंगा आए । उद्धार र राहतका लागि आएका मानिसको लस्कर बढे पनि पीडितको समस्या भने उस्तै छ । धेरै पीडित सडक र बारीका पाटामा आगो तापेर रात काट्न बाध्य छन् ।

भूकम्पले घर भत्किएपछि शुक्रबार रातभर बारीमा र शनिबार तल्लो बसपार्कको छेउमा बसेर रात कटाएको भेरी नगरपालिका–३ तल्लो थाप्लेका राजु विकले बताए ।

‘आजसम्म पनि त्रिपाल र ओढ्ने बिछ्याउने कसैले दिएको छैन,’ उनले भने, ‘६ जनाको परिवार दुई रातदेखि खुला आकाशमुनि छौं ।’ शनिबार रेडक्रसले केही त्रिपाल वितरण गरे पनि पर्याप्त नभएको स्थानीयले बताए । आठ महिनाकी गर्भवती नलगाड नगरपालिका–८ हलचौरकी २९ वर्षीया सिर्जना केसी बिहीबार शिक्षक लाइसेन्सको परीक्षा दिन खलंगा आएकी थिइन् । सानीआमा शिला क्षत्रीको घरमा बसेकी उनी भूकम्पपछि दुई दिन सडक छेउमै रात बिताउँदा बिरामी परेकी छन् । तल्लो पेट दुख्न थालेपछि उनी आइतबार बिहानै जाजरकोट अस्पताल पुगेकी थिइन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।