सिकिएन २०७२ पछिको अनुभव, सचेतना अभिवृद्धि हुन नसक्दा जाजरकोटमा भूकम्पबाट ठुलो मानवीय क्षति

सिकिएन २०७२ पछिको अनुभव, सचेतना अभिवृद्धि हुन नसक्दा जाजरकोटमा भूकम्पबाट ठुलो मानवीय क्षति


काठमाडौँ । २०७२ को भूकम्पको ताजा अनुभवले नेपाललाई भूकम्पको पूर्वतयारी र भूकम्पपछिको पुनर्निर्माणका धेरै कुरा सिकाएको छ । तर तिनको प्रयोग भने नभएको जाजरकोट भूकम्पले स्पष्ट पारेको छ ।

पश्चिम नेपालमा यस वर्ष ४।० रेक्टर स्केलभन्दा माथिका थुप्रै पटक भूकम्प र पराकम्पन गएका छन् । जाजरकोटमा शुक्रबार राति ६।४ रेक्टर स्केलको भूकम्प जानुअघि गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६।३ रेक्टर स्केलका भूकम्प गए । त्यसअघि पनि गत वैशाख १४ गते बाजुरा केन्द्रबिन्दु भएर ५।९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

ती भूकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिमका विभिन्न स्थानको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले अनुगमन गरे । उनले २०७२ को भूकम्पबाट शिक्षा लिन नसकेको बताए । भूकम्प प्रभावित स्थलको शनिबार बिहानै अवलोकन गरेर काठमाडौँ फर्केपछि आयोजित विपत् व्यवस्थापन जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधन गर्दै भने, “२०७२ मा पनि कुरा त भयो तर प्रभावकारी कार्यान्वयन भएन, त्यो हो– भूगोलको अध्ययन गर्ने । कुनै भूगोल भूकम्पमा बढी क्षति हुने खालको छ, कुनै कम क्षति हुने भूगोल छ, त्यसको अध्ययन चाहिन्छ । यस पटक सबैतिर भौगोलिक अध्ययन गर्ने र त्यसका आधारमा बस्ती बसाल्नेतिर सोच्नु पर्छ ।”

भूगर्भविद्ले पश्चिम नेपालमा ठुलै भूकम्प जाने पटक पटक सचेत गराउँदै आएका थिए । त्यही क्षेत्रमा एक वर्षअघि छिटो छिटो नै ‘ट्रेमर’ गइरहेका थिए तर प्रभावकारी रूपमा सचेतना अभिवृद्धि हुन नसक्दा जाजरकोट भूकम्पबाट ठुलो मानवीय क्षति भएको विज्ञहरूको ठम्याइ छ । त्यस क्षेत्रमा तत्काल नयाँ भवन निर्माण गर्न नसकिए पनि प्रबलीकरण कार्यलाई अभियानका रूपमा सञ्चालन गर्नुपर्ने सुझाव विज्ञहरूको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।