भूकम्पमा ज्यान गुमाएका १५७ जनाको शव आफन्तलाई बुझाइयो, ११० जना उपचाररत

भूकम्पमा ज्यान गुमाएका १५७ जनाको शव आफन्तलाई बुझाइयो, ११० जना उपचाररत


काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी ज्यान गुमाएका १५७ जनाको शव आफन्तलाई बुझाइएको छ । सबैको सनाखतपछि आफन्तलाई शव बुझाइएको गृह मन्त्रालयले जनाएको छ ।

७२ महिला र ३३ पुरुष गरी जाजरकोटमा १०५ तथा २७ महिला र २५ पुरुष गरी रुकुम पश्चिममा ५२ जनाले भूकम्पमा ज्यान गुमाएका थिए । ती सबैको शव आफन्तलाई बुझाइएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार भूकम्पमा परी घाइते भएका २५६ मध्ये १४६ जना डिस्चार्च भइसकेका छन् । जसमा रुकुम पश्चिमका ८९, जाजरकोटका ४६ जना, बैतडीका ३, सल्यान तथा प्यूठानका दुई–दुई तथा दैलेख र अर्घाखाँचीका एकएक जना डिस्चार्ज भएका हुन् ।

गिरीका अनुसार जाजरकोटमा घाइते भएकामध्ये भेरी अस्पताल नेपालगञ्जमा २६, कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा २, प्रदेश अस्पताल सुर्खेतमा १८, सम्बन्धित जिल्ला अस्पतालसहित मातहतमा १५ जना उपचाररत छन् । रुकुम पश्चिममा घाइते भएकामध्ये भेरी अस्पताल नेपालगञ्जमा १३, प्रदेश अस्पताल सुर्खेतमा १४, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा ८ र रुकुम पश्चिम जिल्ला अस्पताल मातहत १० जना उपचाररत छन् ।

त्यसबाहेक दैलेखमा घाइते भएका एक जनाको प्रदेश अस्पताल सुर्खेत, सल्यानमा घाइते भएकाको सिटी अस्पताल तुलसीपुर दाङमा उपचार भइरहेको प्रेस संयोजक गिरीले बताए ।

समग्रमा भूकम्पमा परेर घाइते भएकामध्ये भेरी अस्पताल नेपालगञ्जमा ४१, कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा १, प्रदेश अस्पताल सुर्खेतमा ३१, त्रिवि शिक्षण अस्पताल काठमाडौंमा ८, सिटी अस्पताल तुलसीपुर दाङमा २, जाजरकोट र रुकुम पश्चिमका जिल्ला अस्पतालमा ८३ जना उपचाररत छन् ।