काठमाडौं । जाजरकोटको रामीडाडाँ केन्द्र भएर गएराति गएको भूकम्प पीडितहरुको उद्धार र राहतमा परिचालित हुन राजनीतिक दलहरुले पार्टी पंक्तिलाई आहृवान गरेका छन् ।
दलहरुले अलग-अलग बक्तव्य जारी गरी तत्काल खोज, उद्धार र आपतकालीन राहतका लागि पार्टी पंक्तिलाई आहृवान गरेका हुन् ।
नेपाली कांग्रेसका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी स्वदेश तथा विदेशमा रहेका सबैलाई खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न आहृवान गरेका छन् ।
‘स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेस अपिल गर्दछ’, वक्तव्यमा उल्लेख छ ।
कांग्रेसले पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि पचास लाख नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ । ‘…यसैक्रममा भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले रु.पचास लाख नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ ‘, विज्ञप्तिमा उल्लेख छ ।
नेकपा एमालेले घाइतेहरुको उद्धार र उपचारमा परिचालित हुन पार्टी पंक्तिलाई अपिल गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले गरेको अपिलमा देशभरका नेता-कार्यकर्तालाई उपचारमा जुट्न आग्रह गरिएको छ । ‘देशभरिका साथीहरुले राहत र घाइतेको उपचारमा कसरी सहयोग गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुहोला ‘, ओलीको आग्रह छ ।
सुर्खेत, नेपालगञ्ज र काठमाडौंका कमिटीहरुलाई उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक ब्लड संकलन गर्न अध्यक्ष ओलीले निर्देशन दिएका छन् । ‘उद्धारमा भीडभाड भन्दा छरितो व्यवस्थापन गर्नुपर्छ,’ ओलीले भनेका छन् ।
चाडबाडको अवसरमा पूर्वनिर्धारित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम स्थगित गरी उद्धारमा केन्द्रीत हुन एमालेले निर्देशन दिएको छ ।
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले पनि पार्टीको पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी उद्धारमा परिचालित हुन कार्यकर्तालाई निर्देशन दिएको छ ।
महासचिव देव गुरुङले वक्तव्य निकाली खोज, उद्धार र राहतमा परिचालित हुन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।
‘संकट र दुःखको यस घडीमा म हाम्रो पार्टीका कणर्ाली प्रदेश कमिटी, प्रभावित जिल्लाका समन्वय समितिहरु र अन्य सम्बन्धित क्षेत्रका नेता एवं कार्यकर्ताहरुलाई खोज, उद्धार एवम् राहतमा सक्रियतापूर्वक सहयोग गर्न अपिल पनि गर्न चाहन्छु’, बक्तव्यमा उल्लेख छ ।
शीघ्र उद्धार, घाइतेहरुको उपचार र राहतको आवश्यक प्रबन्ध गराउन तीनै तहका सरकारसँग माओवादी केन्द्रले अपिल गरेको छ । सरोकारवाला संघसंस्थाहरुलाई पनि सहयोगको अपिल माओवादीले गरेको छ ।
नेकपा एकीकृत समाजवादीले पनि खोज, उद्धार र आवश्यक सहयोगका निम्ति पार्टी पंक्ति परिचालित गरेको छ । अध्यक्ष माधवकुमार नेपालले बक्तव्य जारी गरी सरकार र स्वयम् सेवी संघसंस्थासँग समन्वय गरी उद्धारमा परिचालित हुन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।
‘साथै, अझै पराकम्पहरु आउने र थप क्षति हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन समेत सबैमा अनुरोध गर्दछु’, बक्तव्यमा उल्लेख छ ।
अर्काे दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि उद्धार, उपचार र राहतका निम्ति आफ्नो टोली परिचालन गरेको छ । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, महामन्त्री डा.मुकुल ढकाल र डा.तोसिमा कार्कीसहितको टोली जाजरकोट गइसकेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को टोली पनि तत्काल उद्धार कार्यमा परिचालित हुन पार्टीमा सर्कुलर पठाएको छ । ‘राप्रपाले भूकम्प प्रभावित क्षेत्रमा पुगी उद्धार कार्यमा संलग्न हुन, राहत र पुनस्र्थापनामा जुट्न पार्टीको सबै निकायमा सर्कुलर गरेको छ’, पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् । कर्णाली उपाध्यक्ष मुकुन्दश्याम गिरी सहितको टोली उद्धार सामग्री लिएर प्रभावित क्षेत्रमा गइसकेको पनि श्रेष्ठले जानकारी दिए ।
नेपाल प्रहरीले दिएको सूचनाअनुसार, भूकम्पमा परी मृत्यु हुनेको संख्या जाजरकोट र पश्चिम रुकुम गरी १३७ जना पुगेको छ ।
प्रतिक्रिया