काठमाडौं । करोडौँ रुपैयाँ खर्च गरेर निकै तामझामका साथ सडकमा रङ पोतेर सुरु गरिएको सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा बन्द भएको छ । संविधान दिवसको अवसर पारेर असोज ३ गते उद्घाटन गरिएको बस सेवा एक महिनामै ठप्प भएको हो ।
द्रुत भनिए पनि यी बसहरू समेत ट्राफिक जाममा मात्रै परेका थिएनन्, यिनै बसका कारण सडकको ट्राफिक समेत अस्तव्यस्त बनेको थियो । यात्रुहरूले द्रुत भनिएको बसमा झनै धेरै समय लागेको गुनासो गरेका थिए ।
द्रुत बसको रुटका लागि सडकमा रङ लगाउन र ट्राफिक संकेत राख्न मात्रै साढे दुई करोड रुपैयाँ खर्च भएको थियो । अहिले सडकमा लगाइएको रङसमेत उड्न थालिसकेको छ । सडकको गतिलो संरचना नबनाएरै हचुवाका भरमा गरिएको करोडौँ लगानी बालुवामा पानी जस्तै भएको छ ।
तर सरकारी निकायले भने द्रुत बस सेवा बन्द नभएको दाबी गर्दै तिहारपछि व्यवस्थित रूपमा सञ्चालन हुने बताएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार बिदा सकिएलगत्तै द्रुत बस सेवा पुनस् सञ्चालनमा आउने बताए ।
‘दसैँदेखि तिहारसम्म राजधानीका सडकहरूमा जाम हुँदैन, यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको हो’, मन्त्री ज्वालाले भने, ‘तिहारको बिदा सकिएकै दिनदेखि पूर्ण क्षमतामा द्रुत बस सञ्चालन हुनेछ ।’
प्रतिक्रिया