भारतमा गोली हानी एक नेपाली युवाको हत्या, २९ लाख भारु लुटियो

भारतमा गोली हानी एक नेपाली युवाको हत्या, २९ लाख भारु लुटियो


रौतहट । भारतमा गोली हानी एक नेपाली युवाको हत्या गरिएको छ । भारत विहारको रामगढवा बजारमा मंगलबार गोली प्रहार गरी रौतहटको गौर नगरपालिका ९ का ४० वर्षीय दिलिप सिंहको अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।

रामगढवा बजार स्थित शिव शक्ति राइस एन्ड फ्लोर मिलमा लेखापालको काम गर्दै आएका सिंहलाई पैसा लुट्ने उद्देश्यले गोली हानी हत्या गरिएको भारतीय प्रहरीले अनुमान गरेको छ ।

भारतको मुजफ्फरपुरबाट संकलन गरेको २९ लाख भारतीय रुपैयाँ लिएर मिलमा फर्किरहेको बेला सिंहलाई मिल नजिकै अज्ञात समूहले गोली हानेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्यापछि २९ लाख भारतीय रुपैयाँ लिएर लुटेरा समूह फरार भएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतकको शव भारतीय प्रहरीले परिवारलाई जिम्मा लगाएको छ ।