प्रधानमन्त्रीको चारदिने भारत भ्रमण सकियो, दिल्लीबाट काठमाडौंका लागि उडे

प्रधानमन्त्रीको चारदिने भारत भ्रमण सकियो, दिल्लीबाट काठमाडौंका लागि उडे


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् ।उनी अहिले इन्दिरा गान्धी विमानस्थलबाट काठमाडौंका लागि उडान भर्दैछन् । प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी हुन् ।

प्रचण्ड साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए ।

भ्रमणकै क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति दौपदी मुर्मू एवं उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री दाहाल भारतको मध्यप्रदेशस्थित इन्दौर सहरमा पुगी त्यहाँको फोहर व्यवस्थापनको बारेमा जानकारी लिनुका साथै विज्ञानप्रविधिसम्बन्धी क्षेत्रको अवलोकन गरेका थिए । प्रधानमन्त्री दाहाल आजै इन्दौरबाट नयाँदिल्ली फर्किएका हुन् ।

भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा व्यापार सम्झौता, पारवहन सन्धि नवीकरण, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विभिन्न सम्झौता एवं समझदारी भएका छन् । प्रधानमन्त्री दाहाल यही जेठ १७ गते औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका थिए ।