अपाङ्गता भएका व्यक्तिहरुको सवाल र समावेसीकरणमा धर्मगुरु र सञ्चारमाध्यमको भूमिका

अपाङ्गता भएका व्यक्तिहरुको सवाल र समावेसीकरणमा धर्मगुरु र सञ्चारमाध्यमको भूमिका


घरपरिवारदेखि समाजमा अपाङ्गता भएका व्यक्तिहरूमाथि भइरहेको विभेद अन्त्यका लागि सबै क्षेत्रमा अपाङ्गता भएकाहरुलाई समावेश गर्ने र सहभागि गराउनु पर्ने सरोकारवालाहरुले बताएका छन् । वल्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा सबै धर्मका गुरुहरुको संस्था नीरन नेपालले ललितपूरमा आयोजना गरेको छलफल कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको सवाल जति उठ्नु पर्ने हो त्यति उठ्न नसकेको अपांगता भएका महिलाहरुको संस्था एफडब्लुडीएनका अध्यक्ष निर्मला धितालले बताउनु भयो । कार्यक्रममा निरन नेपालका पूर्व अध्यक्ष हर्स थापाले धर्मको नाउमा अपाङ्गता भएका व्यक्तिहरुमा हुने विसङ्गति, कुरीति अन्त्यका लागि आफूहरूले अभियान सुरु गरेको बताउदै त्यसका लागि सबै क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता गराउनु पर्ने बताउनु भयो । अपांगता भएका व्यक्ति मिना पौडेलले मठ मन्दिरहरु अपांगमैत्री बनाउनको लागि र सबै धार्मिक कार्यहरुमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहभागि गराउनको लागि सम्बन्धीत धर्मका गुरुहरुले सहयोग गर्नुपर्ने बताउनु भयो । भिक्षु धर्म मुर्तीले अपांगता भएका व्यक्तिहरुको पहुँचमा पुग्ने गरेर धार्मिक सूचना तथा सञ्चार गर्ने कुरामा आफुहरुले पहल गर्ने बताउनु भयो । अपाङ्गता भएकाहरुको समावेसीकरण र अपाङ्गता भएका व्यक्तिहरुको सवालमा हिन्दु धर्मको मुल ग्रन्थले जोड दिएको भएता पनि केहि पूराणहरु तथा सहायक ग्रन्थहरुमा अपाङ्गता भएका व्यक्तिहरुलाई होच्याउने तथा हिंसा हुने बिषयहरु भएको कर्मकाण्ड महासंघका उपाध्यक्ष रामचन्द्र भण्डारीले स्वीकार गर्नु भयो ।
सामुदायिक रेडियोहरुको नेटवर्क सीआईएनका व्यवस्थापक दीपक आचार्यले अपाङ्गतालाई पापसँग जोडेर व्याख्या गर्ने सामाजिक सोचलाई परिवर्तन गर्नको लागि धर्मगुरुहरु र सञ्चार माध्यमले सहकार्य गरेर अभियान सुरु गर्नु पर्ने बताउनु भयो । पाप गरेर अपाङ्गता भएको भन्ने गलत धारणा घरपरिवार तथा समाजबाट हटाउन धर्मगुरुको माध्यमबाट सामुदायिक रेडियोहरु र अन्य सञ्चार माध्यमले सचेतना फैलाउनु पर्ने आचार्यले बताउनु भयो । अवसर पाएमा अपाङ्गता भएका व्यक्तिले पनि ठूलाठूला काम गरेर देखाउन सक्छन् भन्ने त दुवै खुट्टा नभएका हरीबहादुर बुढा मगरले समरमाथाको चुचुरोमा पुगेर प्रमाणित गर्नु भएको अनलाईन पानाका पत्रकार रुपा घिमिरेले बताउनु भयो । अपाङ्गता भएका व्यक्तिहरुको आवाजलाई केहि मात्रामा आफुहरुले उठाएपनि गहिरो रुपमा उठाउनको लागि सञ्चार माध्यमलाई सरकार र सरोकारवालाले आर्थिकरुपमा सहयोग गर्नु पर्ने जनसञ्चार टेलिभिजनका व्यवस्थापक सुरेश प्रसाद शैजुले बताउनु भयो ।
अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्ट्रिकोणमा सकारात्मक परिवर्तन आए पनि अझै अपाङ्गता भएका व्यक्तिहरु, धर्मगुरु र सञ्चार माध्ययमले यस क्षेत्रमा धेरै काम गर्नुपर्ने कार्यक्रमको निष्कर्ष थियो ।