बाबुले आमाको हत्या गरेपछि टुहुरा बनेका बालबालिका

बाबुले आमाको हत्या गरेपछि टुहुरा बनेका बालबालिका


कैलालीको गौरीगंगा नगरपालिका(५ मा बाबुले आमाको हत्या गरेपछि टुहुरा बनेका बालबालिकाको स्याहारका लागि एसओएस बालग्राम धनगढीले सहयोग गरेको छ ।

एसओएस बालग्रामका निर्देशक पदमबहादुर हमालले ललिता नाम्जालीका दुई जना छोराछोरीलाई पालनपोसनका लागि सहयोग गरिरहेको बताए ।

बालबालिकाहरू अहिले आफ्नी ठूली आमा तुलसीदेवी नाम्जालीसँग बसेका छन् । तुलसीदेवीकै नाममा बैंक खाता खोलेर मासिक ४५ सय रुपैयाँका दरले दुई जनाका लागि ९ हजार प्रदान गरिने निर्देशक हमालले बताए ।

संरक्षकले बालबालिकाहरु गाउँमै सरकारी विद्यालयमा अध्ययन गरिरहेकाले कारण उक्त रकमले स्याहारसुसार गर्न सकिने बताएपछि तत्काल ४५ सय रुपैयाँ सहयोग गर्ने गरी सम्झौता गरिएको हमालले बताए ।

बालबालिकालाई उक्त रकम अपुग भएको अवस्थामा थप्न पनि सकिने एसोएस बालग्रामले जनाएको छ ।

गत असोजमा शेरबहादुर नाम्जाली मगरले घरायसी विवादमा ३४ वर्षीया श्रीमती ललिता नाम्जाली मगरेको हत्या गरेका थिए भने छोरीलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाएका थिए ।

घटना भएको भोलिपल्ट पक्राउ परेका नाम्जाली मगर पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

अहिले उनका छोराछोरीलाई दाजु वीरबहादुर नाम्जाली मगरले पालनपोषण गरिरहेका छन् ।