गौशालामा लुटपाटको उद्देश्यले पुरुषको हत्या भएको पुष्टि, एक युवक पक्राउ

गौशालामा लुटपाटको उद्देश्यले पुरुषको हत्या भएको पुष्टि, एक युवक पक्राउ


मंगलबार विहान काठमाडौको गौशाला नजिकै रुद्रनगरमा मृत भेटिएका पुरुषको हत्या भएको खुलेको छ ।

प्रहरीले हत्या आरोपमा मोरङका ३२ वर्षका रामबहादुर थापालाई पक्राउ गरेको छ । उनले लुटपाट गर्ने उद्देश्यले हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । प्रहरीले हत्या भएको व्यक्तिको पनि पहिचान गरेको छ । उनी वीरगञ्ज घर भई टोखा बस्ने ध्रुवबहादुर खड्का भएको प्रहरीले बताएको छ ।

एसएसपी कार्कीका अनुसार थापाले खड्कासँग भएको नगद र सामान लुट्ने उद्देश्यले कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । थापाले गौशालाको रुद्रनगर शान्ति मार्गमा खड्काको छातीमा दुबै खुट्टाले हानिरहेको नजिकैको सीसीटीभी फुटेमा पनि देखिएको प्रहरीले बताएको छ ।

प्रहरीले थापाको साथबाट लुटिएको मोवाइल र पर्स पनि बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालका अनुसार थापाले धेरै पैसा हुन सक्ने अनुमान गरेर आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । तर पैसा केही हजार मात्र भेटिएको पाइएको प्रहरीको भनाइ छ ।

हत्या आरोपमा पक्राउ परेका थापा यसअघि २०७७ सालमा गाजा सहित पक्राउ परेका थिए ।