रुपन्देही । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दा रुपन्देही जिल्ला अदालतमा पुगेको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दर्ताका लागि पठाएको सरकारी वकिल कार्यालयकी सूचना अधिकारी उमाकुमारी केसीले जानकारी दिइन् । मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा पठाइएको उनको भनाइ छ ।
संगठित रूपमा ठगीको कसुरमा मुद्दा दायर गर्न लागिएको हो । उक्त मुद्दामा ४२ जना प्रतिवादी बनाइएको छ । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रूपैयाँभन्दा बढी रकम अपचलन भएको अनुसन्धान प्रतिवेदनको निचोड छ । त्योमध्ये १४ करोड रूपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ ।
प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्व डीआइजी छविलाल जोशीसहित लाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन गत शुक्रबार प्रहरीले बुझाएको थियो ।
प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा रविविरुद्ध व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाका नाममा (सामूहिक) २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रूपैयाँको बिगो माग दाबी गरिएको छ ।
त्यस्तै जोशीविरुद्ध २ करोड ५० लाख र मिडियाको नाममा (सामूहिक) १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रूपैयाँ बिगो दाबी गरिएको छ । यस्तै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङविरुद्ध व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार बिगो माग दाबी प्रहरी प्रतिवेदनमा गरिएको छ ।
रुपन्देही अदालतका सूचना अधिकारी अनन्त मरासिनीले मुद्दा अदालतमा आएपनि दर्ता गर्न समय लाग्ने बताए ।
प्रतिक्रिया