बाला चतुर्दशीमा नाम दर्ता गरेर बत्ती बाल्नेलाई पशुपति क्षेत्र विकास कोषले तोक्यो २१ सय शुल्क

बाला चतुर्दशीमा नाम दर्ता गरेर बत्ती बाल्नेलाई पशुपति क्षेत्र विकास कोषले तोक्यो २१ सय शुल्क


बाला चतुर्दशी पर्वका अवसरमा नाम दर्ता गरेर पशुपति क्षेत्रमा बत्ती बाल्न चाहने भक्तजनका लागि पशुपति क्षेत्र विकास कोषले दुई हजार एकसय रुपैयाँ शुल्क निर्धारण गरेको छ।

शनिबार (भोलि) परेको बाला चतुर्दशीको अवसरमा आज त्रयोदशीको साँझ पशुपति क्षेत्रमा पितृका नाममा बत्ती (दीपदान) बालेर रातभर जाग्राम बस्ने गरिन्छ। भोलि (शनिबार) बिहान पितृको सम्झनामा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर शत्बीज छरी बालाचतुर्दशी पर्व मनाउने प्रचलन् छ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन्। त्रयोदशीको बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने गर्छ।

दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउँसो दुई बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने कोषले जनाएको छ। यो वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न प्रतिबन्ध गरेको छ।

विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरिएको कोषले जनाएको छ। भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने कोषका सदस्य सचिव डा।मिलनकुमार थापाले जानकारी दिए।

तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कानुनी कारबाही गर्ने निर्णय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको व्यवस्थापन बैठकले गरिसकेको उनले जानकारी दिए।

बाला चतुर्दशी पर्वका लागि नेपाली सेनाले पाँच वटा ठूला पाल उपलब्ध गराएको छ। बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिारालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ।

पशुपतिमा बाला चतुर्दशीका अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको पनि सदस्य सचिव थापाले जानकारी दिए।

पशुपतिनाथको मेलाका लागि काठमाडौँ महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गर्ने भएको छ। यस्तै मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०लाई अनुरोध गरिएको छ।

मेलाका लागि सुरक्षा व्यवस्था, सवारीसाधन व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी पूरा भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। मेलामा सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, बिजुलीबत्ती व्यवस्थापन, मेला क्षेत्रमा राखिने पसलको व्यवस्थापन, स्वयंसेवक परिचालनलगायत तयारी पनि पूरा भएको कोषले जनाएको छ।