रवि लामिछाने फेरि प्रतीक्षा कक्षमा,कमजोर भिजिविलिटीका कारण जहाज उड्न सकेन

रवि लामिछाने फेरि प्रतीक्षा कक्षमा,कमजोर भिजिविलिटीका कारण जहाज उड्न सकेन


२६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बुद्ध एयरको जहाजमा एक घन्टा राखेर पुनः प्रतीक्षा कक्षमा झारिएको छ ।

पोखराबाट बयानका लागि भैरहवामा ल्याउन बिहानै साढे ५ बजे नै उनलाई जहाजस्थल पुर्‍याइएको थियो । बिहान पौने ८ को उडान भएपनि भैरहवामा भिजिविलिटी नभएकोले बाहिरै राखिएको थियो । भैरहवामा मौसम सुधार भएको भन्दै १०:२९ बजे जहाजमा राखिएपनि साढे ११ बजेसम्म भैरहवामा कमजोर भिजिविलिटीका कारण जहाज उड्न सकेको छैन ।

अहिले जहाजबाट रविसहित सबैलाई झारेर प्रतीक्षा कक्षमा लगिएको जनाइएको छ । उनलाई पोखरा विमानस्थलको विशिष्ट कक्षमा राखिएको छ भने अन्य यात्रुहरूलाई प्रतीक्षा कक्षमा राखिएको छ । पोखरा जहाजस्थलमा पनि उनलाई विशेष सुरक्षाभित्र राखिएको र आफूहरू अन्य ठाउँमा रहेको एक यात्रुले नेपाल प्रेसलाई बताए ।

यता रुपन्देहीमा लामिछानेलाई ल्याउने भएपछि बिहानैबाट गौतमबुद्ध जहाजस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । उनलाई ल्याउने तयारीपछि रास्वपा लुम्बिनी प्रदेशले भैरहवाको बुद्धचोक, लुम्बिनी गेटमा प्रदर्शन थालिसकेका छन् भने एयरपोर्टमै पुगेर पनि समर्थकहरूले प्रदर्शन गरिरहेको रास्वपा प्रदेश अध्यक्ष देवराज पाठकले बताए ।
उता सुप्रिम ऋण तथा बचत सहकारी पीडितहरुले पनि भैरहवामै प्रदर्शनको तयारीका लागि पुगेका छन् । उनीहरूले ११ बजेदेखि प्रदर्शन गर्ने सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले जनाए । उनले कसैको समर्थन र विरोधभन्दा पनि आफूहरुले न्यायका लागि विरोध गरेको बताए ।

रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरले जहाजस्थलबाट सिधै सरकारी वकिल कार्यालयमा लगेर बयान सुरु गर्ने बताएका छन् । प्रशासनले भने दुवै तर्फको प्रदर्शनलाई रोक्न निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । लुम्बिनी गेट, बुद्धचोक, सरकारी वकिल कार्यालय परिसर र जिल्ला अदालत क्षेत्रमा निषेधाज्ञा लगाउने तयारी भएको सुरक्षास्रोतले जनाएको छ ।