अर्घाखाँचीमा मासु खाएर बिरामी हुनेको संख्या ३५ पुग्यो

अर्घाखाँचीमा मासु खाएर बिरामी हुनेको संख्या ३५ पुग्यो


 

अर्घाखाँची — अर्घाखाँचीको सन्धिखर्कमा प्रसादको रुपमा मासु खाएर बिरामी हुनेको संख्या ३५ पुगेको छ । उनीहरुमा ज्वरो आउने, झाडापखाला लाग्ने, बान्ता हुने र शरिर दुख्ने जस्ता लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डा। जगन्नाथ तिवारीले बताए ।

अस्पतालमा सबैको उपचार भइरहेको छ । आइतबार सन्धिखर्क तारामार्गका दीपक केसीले देउराली मन्दिरमा पूजा गरेका थिए । प्रसादको रुपमा बोकाको मासु खाएका मध्ये सोमबार २५ जना बिरामी भएका थिए । मंगलबार १० जना थप बिरामी परेका छन् ।

खानाकै कारण उनीहरुमा ‘फुड पोइजन’ का कारण बिरामी भएको तिवारीले बताए । बिरामीले मासुसहित दुई दिन अगाडि बनाएको अचार र मासु नपुगेर फ्रेस हाउसबाट थप मासु लगेर पकाएर खाएका थिए ।

सुरुमा प्रसाद खानेलाई केही नभएको र पछि थपेर खाएका बिरामी परेको बिरामीहरुको भनाई उद्धृत गर्दै डा। तिवारीले बताए । मासु, पुलाउ, अचार सबै एकै पटक खाएकाले कुन खानाका कारण बिरामी परे भन्ने यकिन हुने नसकेको उनले बताए । सबैको अवस्था सामान्य भएपनि ज्वरो आउने र झाडापखाला लाग्ने क्रम रोकिएको छैन । प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले घटनाबारेमा थप अनुसन्धान भइरहेको बताए ।