सृष्टी खड्का बनिन् मिस पोखरा

सृष्टी खड्का बनिन् मिस पोखरा


पोखरा  ।  मिस पोखराको ११ औं संस्करणको ताज सृष्टी खड्काले पहिरेकी छन्। पोखरा काजीपोखरी निवासी खड्का मिस पोखरा(२०२४ घोषित हुँदै स्कुटर र नगद ५० हजार पुरस्कार जितेकी छन्।

मिस नेपालमा समेत प्रतिनिधित्वको अवसर पाएकी उनले विभिन्न गिफ्ट ह्याम्पर समेत हात पारिन्। मिस पोखरा खड्कालाई सन् २०१८ की मिस पोखरा सारा बजिमयले क्राउन पहिर्‍याइदिएकी थिइन्।

यस्तै, रेखा गैरे फस्ट रनर अप र जेसिका विश्वकर्मा घिमिरे सेकेन्ड रनर अप भइन्। उनीहरूले ताजसहित क्रमशः ३० हजार र २० हजार साथमा विभिन्न गिफ्ट ह्याप्पर प्राप्त गरे। रेखाले वेष्ट इन्टेलेक्टको समेत उपाधि जित्दा जेसिकाले वेष्ट ड्रेस तथा क्वाटवाक अवार्ड जितिन्।

स्थापनाको स्वर्ण वर्ष मनाइरहेको पोखरा जेसीजले इभेन्ट फर युको व्यवस्थापनमा ६ वर्षपछि मिस पोखरालाई निरन्तरता दिएको हो।

त्यसका लागि तीन चरणको अडिसन लिइएको थियो। देशभरबाट छानिएका प्रतिस्पर्धी उत्कृष्टलाई एक महिनासम्म विभिन्न तालिमपछि शनिबार पोखरा सभागृहमा १६ जनालाई ग्राण्ड फिनालेमा उतारिएको थियो।

परिचय राउन्डदेखि नै दर्शकको मन जितेकी सृष्टिले महत्वपूर्ण सवटाइटलसमेत आफ्नै पोल्टामा पारेकी छन्। उनले भ्यूओर च्वाइस, पपुलारिटी र पर्सनालिटीको अवार्ड जितिन्।

उत्कृष्ट ५ भित्र पर्न सफललाई मुख्य निर्णायक सुवर्ण क्षत्रीले २ मिनेटको समय दिएर ‘युवा नेता र वृद्ध नेता ९अनुभवी० मध्ये तपाईंले कसलाई चुन्नुहुन्छ रु र, किनरु’ भनी प्रश्न सोधेका थिए।

५ भित्र परेका ईशा पराजुली र सिम्रन श्रेष्ठसमेतले लिखित जबाफ दिएका थिए। सबैजसो युवा नेता मन पर्छ भन्दै काठमाडौँका मेयर बालेन शाहको उदाहरण दिएका थिए।

तीमध्ये सृष्टिको उत्तरले भने निर्णायकको मन जितेको हो। अन्य निर्णायकमा पूर्व सांसद एवं वरिष्ठ सौन्दर्यकर्मी मीना गुरुङ, अभिनेता सरोज खनाल, अभिनेत्री एलिजा गौतम, ला ग्राण्डीका प्रिन्सिपल किरण केसी, शेषराज भट्टराई, डा रामजी शर्मा थिए।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले क्षमता प्रस्फुटनमा यस प्रकारको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए।

पोखरा जेसीज अध्यक्ष देवराज शर्माले युवा नारीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न यो व्युटी पेजेन्टलाई निरन्तरता दिइएको बताए।

 

कार्यक्रममा मिस नेपाल-२०२४ आश्माकुमारी केसी, नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष राजाराम गौतम, पोखरा जेसीजका कार्यकारिणी उपाध्यक्ष एवं मूल कार्यक्रम संयोजक श्रीकृष्ण सुनार, इभेन्ट फर युका अध्यक्ष विशाल गुरुङलगायत बोलेका थिए।

कार्यक्रममा मिस नेपाल आयोजक हिडन ट्रेजरका डाइरेक्टर प्रमोद कंशाकारको पनि उपस्थिति थियो। कार्यक्रम संचालन पोखरा जेसीज महासचिव तिलकप्रसाद लामिछाने र उरुषा जोशीले गरेका थिए।

कार्यक्रम हेर्न दर्शकको खचाखच उपस्थिति थियो। पहिलोपल्ट सन् १९९५ मा मिस पोखरा भएकोमा पछिल्लो समय ०१८ मा आएर रोकिएको थियो।