काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ । गिजाको क्यान्सर देखिएपछि उनी उपचारका लागि भारत पुगेका छन् । एक साताअघि भारत गएका उनी अहिले मुम्बईको एक अस्पतालमा उपचारमा रहेको स्रोतले जानकारी दिएको छ । सबै स्वास्थ्य परीक्षणहरु भइसकेको र आज राति ११ बजे रिपोर्ट आउने जानकारी उनी निकट राप्रपा सहमहामन्त्री ऋषि देवकोटाले दिएका छन् ।
राणाको गिजामा ३–४ वर्ष अगाडिदेखि समस्या देखिएको बताइएको छ । नियमित चेकअपका लागि काठमाडौंको एउटा अस्पतालमा जाँदा क्यान्सर देखियो । चिकित्सकले पहिलो स्टेजको क्यान्सर भएको बताएपछि उनी भारततर्फ लागेका हुन् । राणाको ससुराली भारतमा छन् । उनकी पत्नी भारतको राज खान्दान सिन्धिया परिवारकी सदस्य हुन् । पुराना राप्रपा नेता डा। पशुपति शमशेर राणा र धवलशमशेर राणाले एउटै खलकमा विवाह गरेका थिए । धवलशमशेरका ससुराली परिवार भारतमा राजनीति नै गरिरहेका छन् ।
धमलशमशेरको कुनै पनि कुलत र अम्मल थिएन । उनले चुरोट र खैनी कहिल्यै सेवन गरेका छैनन् । मदिरा भने पिउँछन् । ६२ वर्षको उमेरमा पनि राणा निकै फुर्तिला छन् । डा। राणा विगतमा खेलाडी पनि थिए । उनी गल्फ खेल्ने गर्थे । खेलकुदमा लागेकाले उनी शारीरिकरुपमा पार्टीका अन्य नेताभन्दा फिट छन् । लामो समयदेखि गिजामा समस्या भए पनि उनलाई बोल्न र भाषण गर्न खासै असुविधा भएको थिएन । राप्रपा सहमहामन्त्री देवकोटाले राणाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।
पहिलो चरणको क्यान्सर भएकाले उपचारपछि स्वस्थ हुनेमा राणा विश्वस्त रहेको देवकोटाले जानकारी दिए । हिजो मात्रै राप्रपाले पार्टीको संगठन विभाग प्रमुखबाट राणालाई हटाएको थियो । राणाले उपचारका लागि भारत जानुअघि सामाजिक सञ्जालमा जानकारी गराएका थिए । यद्यपि, उनलाई क्यान्सर भएको कमै नेतालाई मात्र थाहा थियो । राणा राप्रपाका निर्वाचित महामन्त्री र प्रतिनिधिसभा सांसद समेत हुन् ।
प्रतिक्रिया