हवाई टिकटको मूल्यवृद्धि घटाउन माग गर्दै अनेरास्ववियूले बुझायो पर्यटनमन्त्री र महानिर्देशक अधिकारी समक्ष ज्ञापनपत्र

हवाई टिकटको मूल्यवृद्धि घटाउन माग गर्दै अनेरास्ववियूले बुझायो पर्यटनमन्त्री र महानिर्देशक अधिकारी समक्ष ज्ञापनपत्र


काठमाडौं । नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियूले दशैं नजिकिए सँगै हवाई टिकटको मूल्यवृद्धि ह्वात्तै बढेको र त्यसलाई तत्काल घटाउन माग गर्दै पर्यटनमन्त्री बद्री पाण्डे र नागरिक उड्डयन प्राधिकरका महानिर्देशक प्रदिप अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको छ । हवाईभाडा अस्वभाविक वृद्धिलाई रोक लगाइ पहिलेकै भाडादर कायम गराउन पहल गरिदिन आग्रह गर्दै अनेरास्ववियूले आज पर्यटनमन्त्री पाण्डे र महानिर्देशक अधिकारीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।

केहि दिन अगाडि लगातार देश भर भएको अविरल वर्षापछि आएको बाढी९पहिरो र डुबानले देशका विभिन्न भागहरूमा सयौं नागरिकहरुको ज्यान गएको छ, सयौंको सङ्ख्यामा नागरिकहरू सम्पर्क विहीन भएका छन् र सयौं नागरिकहरु घाइते भएका छन् । प्राकृतिक प्रकोपबाट सयौं घरहरू क्षतिग्रस्त भएका छन् भने अरबौको भौतिक सम्पति नष्ट भएको छन् ।यस्तो अवस्थामा बाढी पहिरोमा फसेकाहरुको उद्धार र राहत, घाइतेको निःशुक्क उपचार, बिचल्लीमा परेका नागरिकहरूको खानपान र बसोबासको व्यवस्था मिलाउन र अवरुद्ध सडकहरुको मर्मत संभार गर्नु सरकारको दायित्व रहेको अनेरास्ववियूको ज्ञापनपत्रमा उल्लेख छ ।

‘बिचल्लीमा परेका नागरिकको घाउमा पलमपट्टि लगाउनुपर्ने बेलामा मानवीय संवेदनशीलतालाई समेत भुलेर हवाई भाडा साविकको भन्दा पनि धेरै लिएको जन गुनासो आइरहेकोले पर्यटनमन्त्री मार्फत हवाई भाडामा भएको मनपरि वृद्धिलाई तुरुन्त रोक लगानुपर्छ । असहाय र विद्यार्थीको लागि निःशुल्क र आम नागरिकको लागि साविककै भाडा कायम गर्नु आवश्यक छ,’ अनेरास्ववियूले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

बाढी पहिरोमा फसेकाहरुको उद्धार र राहत, घाइतेको निःशुक्क उपचार, बिचल्लीमा परेका नागरिकहरूको खानपान र बसोबासको व्यवस्था मिलाउन र अवरुद्ध सडकहरुको मर्मत संभार गर्न अनेरास्ववियले जोडदार माग गरेको छ ।