पहिरोले सडक बन्द‚ एम्बुलेन्समा नै २ जना विरामीको मृत्यु

पहिरोले सडक बन्द‚ एम्बुलेन्समा नै २ जना विरामीको मृत्यु


 

काठमाडौँ । पहिरोले सडक अवरुद्ध हुँदा सिन्धुलीबाट काठमाडौँतर्फ ल्याइँदै गरेका २ जना विरामीको एम्बुलेन्समै ज्यान गएको छ।

सिन्धुली अस्पतालबाट बा २१ च ७५२३ र महोत्तरीको बर्दिवासबाट ज १ च १७०८ नम्बरको एम्बुलेन्स विरामी बोकेर काठमाडौँ आउँदै गर्दा वीपी राजमार्गमै अड्किएपछि २ जना विरामीको मृत्यु भएको सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले थाहाखबरलाई जानकारी दिए

उनका अनुसार सुनकोसी गाउँपालिका-१ दुम्जामा बाढी र पहिरोका कारण ४ दिनदेखि वीपी राजमार्ग अवरुद्ध हुँदा कमलामाई नगरपालिका-४ मल्लागाउँकी ९८ वर्षकी वृद्धा टीकाकुमारी भुजेल र महोत्तरी बर्दिवास नगरपालिका-८ का ४५ वर्षका मानबहादुर सिंजालीको मृत्यु भएको हो।

भुजेलमा दमसम्बन्धी रोग थियो भने सिंजालीमा किड्नीको समस्या रहेको थियो।

प्रहरीका अनुसार एम्बुलेन्सहरु बीच बाटोमै फसेपछि विरामीको मृत्यु भएको छ भने उनीहरुको शवसमेत फर्काउन सकिने अवस्था छैन।

अहिले सिन्धुलीतर्फ राजमार्ग एकतर्फीमात्र सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।