चितवनबाट आएको थियो झ्याप्ले खोलामा पुरिएको माइक्रोबस

चितवनबाट आएको थियो झ्याप्ले खोलामा पुरिएको माइक्रोबस


काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत झ्याप्ले खोलामा पुरिएको भेटिएको अर्को माइक्रोबस चितवनबाट काठमाडौं आइरहेको माइक्रोबस रहेको खुलेको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उक्त हायस चितवनबाट आउँदै गरेको बा ३ ज १३४५ नम्बरको हायस रहेको खुलेको छ।

हायसबाट १० जनाको शव निकालिएको छ।

यसअघि बिहान झ्याप्ले खोलामा पुरिएको अर्को बसबाट तीनवटा शव निकालिएको छ।

आइतबार बिहान करिब १० बजे शव निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालले जानकारी दिएका थिए।

उक्त शव बस भित्रैबाट निकालिएको भनिएको छ। तथापि शवको पहिचान भने खुलेको छैन।

‘गाडीको माथिल्लो भाग हटाएर निकालिएको भनिएको छ। अहिलेसम्म कुन गाडी हो र कहाँ जाँदै थियो भन्ने खुलेको छैन, इन्स्पेक्टर सिलवालले भनेका छन्।

शव निकालिएपछि गाडीको बाँकी भाग निकाल्ने प्रयास भइरहेको छ।

शव पहिचानपछि पोस्टमर्टमका लागि पठाउने प्रहरीको तयारी छ।

यसैबीच गोरखा दरौंदी यातायात सेवा कम्पनीको बस सम्पर्कविहीन भएको छ।

ना ४ ख २२७० नम्बरको यात्रुबाहक बस लापुबेसीबाट काठमाडौं जानका लागि छुटेको र खानीखोलाबाट सम्पर्कविहीन भएको कम्पनीका अध्यक्ष नारायण खत्रीले जानकारी दिए।

‘लापुबेसीबाट बिहान ११ बजे बिहान छुटेको थियो। बसमा दुई–तीन जना मात्रै यात्रु भएको बुझेका छौं। बसमा गुरूङ र तिवारी थरका चालक र सहचालक हुनुहुन्थ्यो। उहाँहरूले जाम छ भनेर बताइरहनुभएको थियो। धादिङको धुनीबेसी नगरपालिकास्थित खानीखोला पुगेपछि सम्पर्कविहीन भएको छ,’ उनले भने।

यात्रुका आफन्तले पनि सम्पर्कमा नआएको भन्दै फोन गरिरहेको खत्रीले जानकारी दिए। हराएको बस झ्याप्ले खोलामा पुरिएको बस हुन सक्ने आकलन गरिएको छ।

यसअघि शनिबार नै झ्याप्ले खोलामा एउटा बस र विंगर जिप पुरिएका थिए। पुरिएको गाडीबाट १४ जनाको शव निकालिएको थियो।

योसँगै आइतबार मात्रै झ्याप्लेखोलाबाट निकालिएको शव संख्या १३ पुगेको छ।

बिहान पुरिएको बसबाट तीन जनाको शव निकालिएको थियो।
उक्त बस गोरखाबाट काठमाडौं जाँदै गरेको बस हुनसक्ने अनुमान गरिएको छ।